
सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी पदभार ग्रहण गरेका छन्। आईतबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ लिए सँगै पदभार ग्रहण गरेका हुन्। यसैक्रममा मन्त्री भण्डारीले दुई ओटा निर्णय गरेका छन् ।
आगामी मंसिरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट माग गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए। प्रतियोगिताका लागि १६ करोड रुपैयाँ माग गर्ने निर्णय भएको छ। संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट बजेट उपलब्ध गराउन माग गरिएको हो ।
साथै, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० को संशोधन स्वीकृति गरेका छन्। यो सँगै छात्रवृत्ति अन्तर्गत कर्णालीका नागरिकले प्रदेश भित्र अध्यनरत विद्यार्थीले मात्र छात्रवृत्ति पाउने व्यवस्था थियो। त्यसलाई संशोधन गर्दै देशभरका जुनसुकै विषय र तहमा अध्ययन गर्न पाउने गरी कार्यविधि संशोधन गरिएको मन्त्री भण्डारीले बताए।