
डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी मन्दिरबाट चोरी भएको भेटी रकम मन्दिर परिसरमै फेला परेको छ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१, त्रिपुराकोटमा रहेको श्री बाला त्रिपुरासुन्दरी मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार रुपैयाँ भेटी शनिबार बिहान साढे ९ बजेतिर चोरी भएको थियो।
चोरी भएको घटना सार्वजनिक भएपछि खोजतलास गर्ने क्रममा उक्त रकम सोमबार साँझ मन्दिरको पश्चिमतर्फ धुपीको रुखनजिक टिमुरको झाडीमा पहेँलो गेरुवस्त्रजस्तो कपडाको सानो झोलामा बेरेर राखिएको अवस्थामा फेला परेको नेपाल प्रहरीको मन्दिरस्थित सुरक्षा पोष्टले जनाएको छ।
मन्दिर सुरक्षा टोलीका इन्चार्ज प्रहरी हवल्दार चन्द्रबहादुर जिसीका अनुसार मन्दिरका सरोकारवाला, न्यौपाने खलक, पुजारी तथा सुरक्षाकर्मीको उपस्थितिमा गरिएको खोजतलासका क्रममा त्रिपुराकोटका मुखिया तथा पुजारी टिकादत्त न्यौपानेले झाडीमा राखिएको अवस्थामा रकम देखेका थिए।
रकम फेला परेपछि हवल्दार जिसीले सरोकारवालाको रोहवरमा मन्दिरका रोलक्रमवाला पुजारी रामप्रसाद उपाध्यायलाई रकम हस्तान्तरण गरेका छन्।
यसअघि रकम हराएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि मन्दिरमा जडान गरिएको सीसीटीभीलगायतका सामग्री परीक्षण गरेको थियो। मन्दिरको मुख्य पूजास्थलमा पुजारीबाहेक अन्य व्यक्तिको प्रवेशमा प्रतिबन्ध रहेकाले प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको थियो।
रकम फेला परे पनि चोरीको घटना कसरी भयो भन्ने वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।