जगदिश शाही
रुकुम पश्चिम । आठविसकोट नगरपालिकाले स्थापना भएको करिब साढे नौ वर्षपछि पहिलोपटक नेपाल सरकारका उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पाएको छ। संघीय सरकारबाट खटाइएका उपसचिव नरेश कटवाल सोमबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यालयमा हाजिर भएका हुन्।
कटवाल कार्यालयमा हाजिर हुने दिन नगरपालिकामा विशेष तयारी गरिएको थियो। कर्मचारीहरूले कार्यालय परिसर सरसफाइ गर्नुका साथै कार्यकक्ष व्यवस्थापन गरेका थिए। कार्यालयमा नयाँ राष्ट्रिय झण्डा राखिनुका साथै प्रमुख प्रशासकीय अधिकृतको स्वागतमा टीका, माला र खादा लगाइएको थियो।
कटवालको आगमनसँगै लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको नगरपालिकाको प्रशासनिक नेतृत्वले नियमितता पाउने अपेक्षा गरिएको छ।
नगरपालिकाको अभिलेखअनुसार स्थापना भएयता विभिन्न समयमा पाँच जना कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। पछिल्लो समय इन्जिनियर राजेश गौतमले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्दै आएका थिए।
नगरपालिकाले दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पठाउन संघीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएको जनाएको छ। कार्यवाहक नगर प्रमुख धनकुमारी शाहीका अनुसार यसअघि केही उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइए पनि उनीहरू आठविसकोटमा हाजिर हुन सकेनन्।
शाहीले नगरपालिकामा काम गर्न आउने कर्मचारीलाई कुनै अवरोध नरहेको दाबी गर्दै विगतमा खटाइएका कर्मचारी किन कार्यालयमा उपस्थित भएनन् भन्ने विषय स्पष्ट हुनुपर्ने बताइन्।
यता, नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कटवालले आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्दै नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताएका छन्।
उनले स्थानीय जनप्रतिनिधि र कर्मचारीसँग सहकार्य तथा समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउँदै पालिकामा काम गर्न चुनौती भए पनि त्यसलाई सहज बनाउँदै अघि बढ्ने बताए।
स्थानीय भाषा, भूगोल र नागरिकका आवश्यकता बुझेका जनप्रतिनिधि तथा कर्मचारीसँग सहकार्य गरेर अघि बढ्दा प्रशासनिक कामलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।
लामो समयसम्म निमित्त नेतृत्वमा चलेको आठविसकोट नगरपालिकामा उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थितिले प्रशासनिक स्थायित्व, कर्मचारी व्यवस्थापन र नागरिकलाई दिइने सेवामा सुधार आउने अपेक्षा गरिएको छ।