जगदिश शाही
सुर्खेत । सुर्खेतमा बालबालिकाको संरक्षण र शिक्षाबाट सुरु गरिएको कोपिला भ्याली सेवा समाजको अभियान अहिले वातावरण संरक्षण, महिला सशक्तीकरण, स्वास्थ्य, कृषि, व्यावहारिक शिक्षा र समुदाय विकासलाई एकीकृत गर्ने मोडलका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ। यही समग्र अभ्यासका लागि कोपिला भ्याली मोडलले सन् २०२६ को अन्तर्राष्ट्रिय ग्रीन एप्पल वातावरण पुरस्कार प्राप्त गरेको छ।

विश्वभरबाट ७ सयभन्दा बढी आवेदन परेको उक्त पुरस्कारमा सुर्खेतमा आधारित ब्लिङ्कनाउको कोपिला भ्याली मोडल छनोट भएको हो। वातावरणीय दिगोपनसँगै अवसरबाट वञ्चित बालबालिकाको शिक्षा तथा संरक्षण र स्थानीय महिलाका लागि आर्थिक अवसर सिर्जना गर्ने अभ्यासलाई एकीकृत रूपमा अघि बढाइएको मोडलका लागि उक्त अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको हो।
यो पुरस्कार एउटा भवन, विद्यालय वा एउटै परियोजनाका लागि मात्र नभई कोपिला भ्याली सेवा समाजमा वर्षौंदेखि विकास हुँदै आएको समग्र समुदायकेन्द्रित दिगो विकास अभ्यासका लागि प्राप्त भएको हो। शिक्षा, बाल संरक्षण, स्वास्थ्य, पोषण, महिला सशक्तीकरण, वातावरण संरक्षण, कृषि, सीप विकास र समुदायको आर्थिक अवसरलाई एउटै प्रणालीसँग जोडेर अघि बढाइएको संस्थाका प्रशासन प्रमुख मीन बहादुर शाहीले वताए।

यसअघि पनि कोपिला भ्याली सेवा समाजले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। हरित विद्यालय, वातावरणीय शिक्षा, दिगो पूर्वाधार, खाद्य तथा कृषि र विद्यार्थी नेतृत्वका क्षेत्रमा भएका कामले संस्थालाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाएको संस्थाले जानकारी दिएको छ।
सन् २००९ मा डु समथिङ अवार्ड, सन् २०१३ मा फोर्ब्स एक्सिलेन्स इन एजुकेसन अवार्ड, सन् २०१४ मा अनसङ हिरोज अफ कम्पासन तथा सन् २०१५ मा सीएनएन हिरो अफ द इयरलगायत सम्मान प्राप्त भएका थिए।
संस्थाले वातावरणीय क्षेत्रमा पनि सन् २०२३ मा ग्रीन एप्पल पुरस्कार, ग्रीन डिफरेन्स पुरस्कारलगायत सम्मान प्राप्त गरेको थियो ।