२०८३ असोज १२ , सोमबार

भारतको केदारनाथमा ढुंगा लागेर बझाङका धर्म खड्काको मृत्यु



बझाङ। भारतको केदारनाथमा माथिबाट खसेको ढुंगा लागेर एक नेपाली कामदारको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–१ कैलाशका ३६ वर्षीय धर्म खड्काको शनिबार साँझ डोली बोक्ने क्रममा ढुंगा लागेर मृत्यु भएको हो ।

खड्का केदारनाथ क्षेत्रमा तीर्थयात्रीलाई डोलीमा बोक्ने काम गर्दै आएका थिए । डोली बोकेर गौरीकुण्डबाट केदारनाथ मन्दिरतर्फ हिँडिरहेका बेला गौरीकुण्ड नजिक बाटोमाथिबाट खसेको ढुंगाले लागेपछि उनको घटनास्थलमै मृत्यु भएको उनको साथमा रहेका एक जना आफन्त सुरेशबहादुर सिंहले जानकारी दिए ।

आर्थिक अवस्था निकै कमजोर रहेका मृतक खड्काको घरमा वृद्ध आमा, पत्नी तथा चार महिनाको छोरा छन् । परिवारको मुख्य सहारा रहेका धर्मको मृत्यु भएपछि उनीहरूको विचल्ली भएको छ । रकम अभावका कारण भारतबाट उनको शव नेपाल ल्याउनसमेत समस्या भएको उनका भाइ नाता पर्ने भुवन खड्काले बताएका छन् ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार