सिद्धदर्शन संवाददाता
सुर्खेत । विद्युतीय स्कुटर निर्माता एथरले कर्णाली प्रदेशमा आफ्नो बजार तथा सेवा विस्तार गर्दै सुर्खेतको वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ।
स्वर्णिम बिजनेस कन्सर्नका अध्यक्ष सोमराज थापाको अध्यक्षता तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नयाँ अनुभव केन्द्रको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा तत्कालीन कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष लक्ष्मण कँडेल, संघका पूर्व वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतलगायत उद्योगी, व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति थियो।
कार्यक्रममा एथरका ब्रान्ड विकास व्यवस्थापक सलमान खानले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सैयद अन्वर अलीले गरेका थिए।
नयाँ अनुभव केन्द्र सञ्चालनमा आएसँगै सुर्खेत तथा समग्र कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटरको प्रत्यक्ष अवलोकन गर्नुका साथै परीक्षण सवारी र खरिदसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।
४५० र रिज्टा शृंखलाका स्कुटर उपलब्ध
नयाँ अनुभव केन्द्रमा एथरका ४५० शृंखला तथा रिज्टा शृंखलाका विद्युतीय स्कुटर उपलब्ध हुनेछन्। ग्राहकले विभिन्न मोडलको जानकारी लिनुका साथै परीक्षण सवारीसमेत गर्न सक्नेछन्।
कम्पनीका अनुसार ४५० शृंखलालाई कार्यक्षमता, आधुनिक प्रविधि र दैनिक प्रयोगको सहजतालाई ध्यानमा राखेर विकास गरिएको छ। यसका नयाँ मोडलमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र आवाजमार्फत नियन्त्रण गर्न सकिने सुविधाजस्ता प्रविधि समावेश छन्।
‘म्याजिक ट्विस्ट’ सुविधाले एक्सिलेटर ग्रिप घुमाएर स्कुटरको गति घटाउन सहयोग गर्छ। यसले पटक,पटक ब्रेक प्रयोग गर्नुपर्ने आवश्यकता कम गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।
त्यस्तै, ‘इन्फिनिट क्रुज’ सुविधाले लामो दूरीको यात्रामा निर्धारित गति कायम राख्न सहयोग गर्छ। आवाजमार्फत नियन्त्रण गर्न सकिने सुविधाबाट उपलब्ध विभिन्न कार्यहरू आवाजकै माध्यमबाट सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।
एथर रिज्टा भने पारिवारिक प्रयोगलाई लक्षित गरी निर्माण गरिएको विद्युतीय स्कुटर हो। लामो सिट, आरामदायी बनावट तथा दैनिक पारिवारिक प्रयोगका आवश्यकतालाई ध्यानमा राखेर रिज्टा विकास गरिएको कम्पनीले जनाएको छ।
ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी
एथर नेपालले ग्राहकको स्वामित्व अनुभवलाई सहज बनाउन बिक्रीपछिको सेवा, ब्याट्री वारेन्टी तथा चार्जिङ पूर्वाधार विस्तारमा समेत जोड दिएको जनाएको छ।
कम्पनीका अनुसार ‘एट सेभेन्टी’ ब्याट्री वारेन्टीअन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले आउँछ, त्यति अवधिसम्म वारेन्टी सुविधा उपलब्ध हुनेछ।
लागू हुने वारेन्टीका सर्तअनुसार ब्याट्रीको स्वास्थ्य क्षमता ७० प्रतिशतभन्दा तल पुगेको अवस्थामा ब्याट्री परिवर्तनसम्बन्धी सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
एथर नेपालका अनुसार हाल देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र तथा ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र सञ्चालनमा छन्। सेवा तथा चार्जिङ सञ्जालको विस्तारले विद्युतीय स्कुटर प्रयोगकर्तालाई लामो यात्राका क्रममा चार्जिङ तथा दूरीसम्बन्धी चिन्ता कम गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
असोज ११ सम्म विशेष उद्घाटन योजना
सुर्खेतमा नयाँ अनुभव केन्द्र सञ्चालनको अवसरमा एथर नेपालले असोज ११, २०८३ सम्म विशेष उद्घाटन योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत नगद खरिद गर्ने ग्राहकले ‘एट सेभेन्टी’ ब्याट्री वारेन्टी पाउनेछन्। वित्तीय सुविधामार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा तथा पुरानो सवारीसाधन साट्ने ग्राहकलाई थप ८ हजार रुपैयाँको मूल्याङ्कन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन्।
नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालि हो। कम्पनीले नेपालभर एथरका अनुभव केन्द्र, सेवा केन्द्र तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको जनाएको छ।
सुर्खेतमा १६औँ अनुभव केन्द्र सञ्चालनमा आएसँगै कर्णाली क्षेत्रका ग्राहकले आफ्नै क्षेत्रमा एथरका विद्युतीय स्कुटरको अवलोकन तथा परीक्षण सवारीसँगै बिक्रीपछिको सेवा र अन्य स्वामित्वसम्बन्धी सुविधा प्राप्त गर्ने अवसर पाउनेछन्।