
सुर्खेत । कर्णालीमा आगामी मंसिरमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता व्यक्तिका लहडले सम्भव नरहेको कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले खेलकुदको मुख्य आयोजक संघीय सरकारले तत्परता नदेखाउँदासम्म व्यक्तिका आँतुरताले प्रतियोगिता आयोजना गर्न सम्भव नरहेको बताए ।
प्रतियोगितालाई लक्षित गरी रङ्गशाला वरिपरीको सडक तथा सुर्खेत विमानस्थल नजिकको पक्की नाला निर्माण लगायतको कार्यलाई तीव्रता दिइएको कँडेलले बताए । उनले प्रतियोगिताको मिति सार्न प्रदेश सरकार लागिपरेको छ भन्ने गलत भाष्य छर्न खोजिएको भन्दै मुख्यमन्त्री कँडेलले सानो ठाउँमा ठूलो कार्यक्रम गर्दा ध्यान दिनुपर्ने बताए ।
संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय नै दोधारमा परेको अवस्थामा खेलकुद परिषद् तातिनुले कुनै अर्थ नराख्ने उनको भनाइ थियो । प्रदेश सरकारले राष्ट्रिय प्रतियोगिताका लागि आन्तरिक तयारी स्वरुप प्रदेश रंगशाला निर्माणलाई तीव्रता दिएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले कहाँ कुन खेल खेलाउन सकिन्छ भन्ने विषयमा निश्चित नभई लगानी गर्न नसकिनेसमेत बताए ।
प्रतियोगिता आयोजनाका लागि संघीय सरकारसँग निरन्तर समन्वयमा रहेको उल्लेख गर्दै कँडेलले कर्णालीको भरोसा, योग्यता र क्षमतामा आँच आउन नदिने गरी प्रदेश सरकार आन्तरिक तयारीमा रहेको बताए । कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्याललाई फेर्न खोजको भन्दै प्रदेश सरकारमाथी लगाइएको आरोप मिथ्या रहेको समेत कँडेलले बताए ।
यो विषयमा आफूले कहिल्यै नसोचेको र नसोच्ने पनि बताए । यस्तै, सुर्खेत विमानस्थल विस्तारका सम्बन्धमा पत्रकारहरूले राखेको प्रश्नमा संघीय सरकारलाई सहमत गराएर अगाडि बढाउनु पर्ने परियोजना रहेको उल्लेख गर्दै संघ सरकार तयार भए प्रदेशले आफ्नो भाग बहन गर्न तयार रहेको बताए ।
संघीय सरकारले विमानस्थल विस्तारमा नभई स्तरोन्ततिमा बजेट विनियोजन भएकाले दोधार रहेको उनले बताए । विमानस्थल विस्तारको विषयलाई निरन्तर उठाइरहेको उल्लेख गर्दै प्रदेशको हैसियतभन्दा बाहिर रहेको विषयलाई लिएर नकारात्मक टिकाटिप्पणी नगरिदिन पत्रकारहरूलाई कँडेलले आग्रह गरे ।