२०८२ फागुन २४ , आइतबार

बढी भाडा लिए हटलाइन १०३ वा १०० मा जानकारी गराउन सकिने



काठमाडौं । काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ । चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिएका छन् ।

चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिदै आएको छ । चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ ।

यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिएरनलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भएरनभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिए ।

गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्रि गर्दै गरेको अवस्थामा टिकटको ठेली सहित एक जना भने आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा छन् । यात्राका क्रममा कसैले अनावश्यक दुखस् हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधबार