२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली निलोले जित्यो ह्विलचियर बास्केट बल प्रतियोगिताको उपाधि



सुर्खेत । सुर्खेतमा भएको ह्विलचियर बास्केट बल प्रतियोगितामा कर्णाली निलोले जित हात पारेको छ । अपाङ्गता भएका व्यक्तिहरू ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको ह्विलचियर बास्केट बल प्रतियोगितामा कर्णाली निलोले कर्णाली गुलाबी टिममाथि ८–६ को जित हात पारेको हो । प्रथम भएको कर्णाली निलोले प्रथम पुरस्कार बापत नगद २५ हजार र मेडल ट्रफी पाएको छ । द्वतिय बनेको कर्णाली गुलाबीले नगद १५ हजार र प्रमाण पत्र प्राप्त गरेको छ ।

स्पाइनल इन्जुरी सङ्घ सुर्खेत र नेपाल पार ओलम्पिक कमिटी कर्णाली प्रदेशको आयोजना तथा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर पालिकाका, परिलक्षित संस्थाको आर्थिक सहयोगमा गरिएको प्रतियोगितामा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल लगायतले अवलोकन गरेका थिए ।

प्रतियोगिता समारोहमा बोल्दै मुख्यमन्त्री कँडेलले खेल क्षेत्रलाई सरकारले प्राथमिकता दिएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूलाई खेल क्षेत्रसँगै अन्य क्षेत्रमा पहुँच स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताए । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहन माया ढकालले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चात् नेपालमै पहिलो पटक आयोजना हुन लागेको पारा राष्ट्रिय खेलकुदको बन्द प्रशिक्षणमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्ने प्रतिबद्धता जनाइन्।

नेपाल पारा ओलम्पिक कमिटी कर्णालीका अध्यक्ष किरण किशोर सापकोटाले प्रतियोगिताले कर्णालीमा पहिलो पटक आयोजना हुन लागेको पारा राष्ट्रिय खेलकुदमा पदक दिलाउन सघाउ पुग्ने बताए । अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरूले पनि खेलमार्फत आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने उल्लेख गर्दै उनले खेल पूर्वाधार अभावले समस्या झेल्नु पर्ने अवस्था रहेको बताए । उनका अनुसार अपाङ्गतामैत्री सार्वजनिक खेल पूर्वाधार नहुँदा निजी क्षेत्रको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार