२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरका १४ वडामा ३५५ सिसिटिभी क्यामेरा जडान गरिँदै



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ३५५ वटा सिसिटिभी क्यामेरा जडान गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा वीरेन्द्रनगरका १–१४ नम्बर वडाका विभिन्न क्षेत्रमा ३५५ वटा क्यामेरा जडान गर्न लागिएको हो ।

सिसिटिभी क्यामेरा जडानका लागि तीनै पक्ष (नगरपालिका, टेलिकम र जिल्ला प्रहरी) बिच बिहीबार सम्झौता भएको छ । सम्झौताअनुसार पहिलो चरण ६ महिनाभित्र १०५ वटा क्यामेरा जडान गरिसक्नुपर्ने छ । बाँकी २५० क्यामेरा चालु आर्थिक वर्षभित्रै जडान गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार क्यामेरा तथा वाइफाई हटस्पट जडानका लागि पहिलो पक्ष (नगरपालिका) ले आवश्यक भौतिक पूर्वाधारहरू पोल तथा अन्य सामग्री, विद्युत् आपूर्ति, स्विच, राउटर, केवल, क्यामेरा, एनभीआर लगायतका उपकरणहरूको व्यवस्थापन गर्नेछ । दोस्रो पक्ष (टेलिकम) ले क्यामेराका लागि फाइबर नेटवर्कमार्फत कनेक्टिभिटी उपलब्ध गराउने उल्लेख छ । जडान गरिएका क्यामेरा तथा उपकरणहरूको सुरक्षाको जिम्मा तेस्रो पक्ष (प्रहरी) ले लिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

पहिलो चरणमा १०५ वटा क्यामेरा जडान गर्नका लागि ११ लाख ६९ हजार ५०० रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ । यो रकम नगरपालिकाले बेहोर्ने छ । बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत बेहोर्ने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप क्यामेरा जडान गरिनेछ ।

कुन वडामा कति जडान गरिँदै ?
नगरपालिकाका अनुसार वडा नम्बर १ मा २४, वडा नम्बर २ मा ११, वडा नम्बर ३ मा ३२, वडा नम्बर ४ मा ५, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा ८, वडा नम्बर ७ मा २२, वडा नम्बर ८ मा १६, वडा नम्बर ९ मा १४, वडा नम्बर १० मा १२, वडा नम्बर ११ मा ९, वडा नम्बर १२ मा २६, वडा नम्बर १३ मा ५ र वडा नम्बर १४ मा २ वटा क्यामेरा जडान गर्न लागिएको हो ।

बाँकी बुलबुले, पिपल चौतारा लगायतका धेरै चहलपहल हुने क्षेत्रमा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ । जडान गरिएको सिसिटिभी नेटवर्क, वाइफाई हटस्पटमा नेपाल टेलिकमको एफटीटीएच अप्टिकल फाइबर प्रयोग गर्ने गरी सम्झौता भएको छ । वडा, राजमार्ग तथा पर्यटकीय क्षेत्रलाई सिसिटिभी क्यामेराले समेट्ने सम्झौतामा उल्लेख छ ।

वीरेन्द्रनगरमा बढ्दो जनसंख्या थपिएका चुनौती, लागूओैषध, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिलाई मध्यनजर राख्दै क्यामेरा जडान गर्न थालिएको वीरेन्द्रनगरका नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘हामीले वीरेन्द्रनगर सहरलाई व्यवस्थित र सुरक्षित बनाउनु छ, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर क्यामेरा जडान गरी प्रहरीलाई सहयोग गर्ने पनि उद्देश्य हो,’ उनले भनिन्, ‘वीरेन्द्रनगर, सुन्दर, सुरक्षित र पर्यटकीय लगायतका सुशासनयुक्त नगरका रूपमा विकास गर्न चाहन्छौँ ।’

सहरी सुरक्षा, अनुशासन, अमन चयन कायम गराउनका लागि जडान गरिने सिसिटिभी क्यामेरा सञ्चालनका लागि निरन्तरता दिइने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कमल लामिछानेले बताए । उनले सहरी क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न यसबाट सहयोग पुग्ने बताए । नगरपालिकाले थालेको यो कार्यले शान्ति, सुरक्षा, अमन चयन निरन्तर राख्न प्रहरीलाई सघाउ पुग्ने सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार