
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतकाे निर्देशकमा डा. गणेश थापा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह जानकारी दिए । विगत १९ वर्षदेखि स्वास्थ्य सेवामा अनवरत रूपमा कार्यरत डा. थापाले यसअघि दुई पटक प्रदेश अस्पतालमा निमित्त निर्देशकका रूपमा काम गरिसकेका छन् ।
प्रवक्ता शाहका अनुसार बैठकले कर्णाली प्रदेशका सचिवहरूको पदस्थापन तथा सरुवा सम्बन्धी अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ । शाहका अनुसार नेपाल सरकारले प्रदेशमा खटाएका सचिवहरूलाई आवश्यकता अनुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र त्यसको जानकारी राजपत्रमा प्रकाशित गर्ने जिम्मेवारी अब मुख्यमन्त्रीलाई दिइएको हो । यसअघि भने सचिवहरूको पदस्थापन मन्त्रिपरिषद् मार्फत हुने व्यवस्था थियो ।
त्यसैगरी, बैठकले कृषि क्षेत्रको विकासलाई लक्षित गरी सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम’को अस्थायी सांगठनिक संरचना स्वीकृत गरेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय कृषिउत्पादक विकास कोष (IFAD) र एसियाली विकास बैंक (ADB) को सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत आवश्यक दरबन्दी पारित गरिएको छ । कार्यक्रमअन्तर्गत सुर्खेतमा मुख्य कार्यालय तथा जाजरकोट र जुम्लामा ‘करिडोर कार्यक्रम’ स्थापना गरिने भएको छ ।