सुर्खेत । सिम्ता गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र सिंह ठकुरीले पदबाट राजीनामा दिएका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित ठकुरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन्।
उनले पालिका अध्यक्ष ऐनबहादुर चन्दको व्यक्तिगत मनोकाङ्क्षा र झुटा आश्वासनजस्ता गैरजिम्मेवारपूर्ण व्यवहारहरू बढेकोले यस्तो नेतृत्वभित्र बसेर आम नागरिकहरूलाई सहज, सुलभ र समावेशी सेवा दिन नसक्ने बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ अनुसार आफू जनताको सेवामा निरन्तर खटिए पनि पछिल्ला गतिविधिले सेवा प्रवाहमा बाधा पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘जनताको हितमा काम गर्न असहज महसुस भएकाले आजको मितिदेखि लागु हुने गरी म वडा नं ४ को वडाध्यक्ष पदबाट राजीनामा दिएको छु,’ ठकुरीको पत्रमा उल्लेख छ।