समाचार सारांश
- चिङ्गाड गाउँपालिका मटेलास्थित ठाँटी मेलामा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ ।
- भलिबल प्रतियोगिताको उपाधि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले हात पारेकाे छ।
- फाइनलमा बनगाड कुपिण्डेले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई सोझो सेटमा हराउँदै उपाधि हात पारेकाे हाे ।
- विजेता टिमले रु. १ लाख ६५ हजार ५ सय ५५, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ ।
- क्रिकेटमा चिङ्गाड गाउँपालिकाका कर्मचारी टिम विजेता बनेर रु. २५ हजार पारेकाे छ ।
सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका मटेलास्थित ठाँटी मेलामा भएको भलिबल प्रतियोगिताको उपाधि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बनगाड कुपिण्डे नगरपालिकाको टिमले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
मेलाका खेल संयोजक खगेन्द्र जिसीकाअनुसार विजेता बनेको बनगाड कुपिण्डे नगरपालिकाको टिमले नगद रु. १ लाख ६५ हजार ५ सय ५५, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यस्तै उपविजेता आठबिसकोट नगरपालिकाको टिमले ट्रफी, प्रमाणपत्र र मेडलसहित रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ । तृतीय स्थानमा रहेकाे लेकवेशी नगरपालिकाकाे भलिबल टोलीले ट्रफी, प्रमाणपत्र र मेडलसहित नगद रु. ५५ हजार ५ सय ५५ प्राप्त गरेको जिसीले बताए ।
आइतबारको सेमिफाइनल खेलमा बनगाड कुपिण्डेले सुर्खेतको लेकवेशी नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै, आठबिसकोटले चिङ्गाड गाउँपालिकाको टिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गत कार्तिक १९ गतेदेखि ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ठाँटी बजार व्यवस्थापन समितिद्वारा आयोजना गरिएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै, आइतबार नै सम्पन्न क्रिकेट प्रतियोगितामा चिङ्गाड गाउँपालिकाका कर्मचारीको टिम विजेता बनेको छ । उक्त टिमले चिङ्गाड–३ को काडाँघुवानी टिमलाई ८ रनले पराजित गर्दै नगद रु. २५ हजारसहित उपाधि हात पारेको हो । उपविजेता काडाँघुवानीले रु. १५ हजार प्राप्त गरेको छ ।
त्यस्तै, भलिबल प्रतियोगिताका सर्वाेउत्कृष्ट खेलाडीले प्रमाणपत्र र मेडलसहित रु. १० हजार रुपैयाँ प्राप्त गरेको संयोजक जिसीले जानकारी दिए । उनका अनुसार फाइनल खेलका दिन स्थानीय दर्शकको उत्साह उच्च रहँदा मेलाको वातावरण झन् रंगीन बनेको थियो ।
