समाचार सारांश
- भगवतीमाई गाउँपालिकाका ८५ प्रतिशत घरधुरीमा विद्युतिकरण सम्पन्न।
- अध्यक्ष गणेश थापाले विद्युत विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको बताए।
- युवाका लागि विभिन्न कार्यक्रम सञ्चालन, चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन।
- श्रम–रोजगार कार्यक्रममार्फत प्रत्येक वडाका ३० जनालाई करिब १०० दिन रोजगारी।
सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकामा हालसम्म ८५ प्रतिशत घरधुरीमा विद्युतिकरण सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाका अनुसार आफू निर्वाचित भएपछि विद्युत विस्तारलाई प्रमुख एजेन्डाका रूपमा लैजाँदै द्रुतगतिमा काम गरिएकाले ८५ प्रतिशत घरमा विद्युत पुगेको हो ।
अध्यक्ष थापाले युवाका लागि विभिन्न कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिँदै चालु आर्थिक वर्षमा मात्र १ करोड रुपैयाँ युवा लक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताए। साथै श्रम–रोजगार कार्यक्रममार्फत प्रत्येक वडाका ३० जनालाई करिब १०० दिन रोजगारको व्यवस्था गरिएको समेत उल्लेख गरे। गाउँपालिकाले तीनै तहका सरकारसँग समन्वय गरी यसै वर्षबाट रिङ्गरोड निर्माणको प्रक्रिया अघि बढाएको छ।
त्यस्तै १४ करोड रुपैयाँको लागतमा आधारभूत अस्पताल निर्माण गरी सेवा प्रवाह भइरहेको दाबी अध्यक्ष थापाले गरे। उनकाअनुसार गाउँपालिकाको कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ भने खानेपानीको अभाव रहेको क्षेत्रलाई दुई महिनाभित्र पूर्ण रूपमा खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।