सुर्खेत । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘डे-नाइट’ खेलमा चितवनले दिएको १४३ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको जितलाई सहज बनाउन विदेशी खेलाडी गुलबदिन नाइबले आक्रामक ब्याटिङ गरे। छैटौं नम्बरमा ब्याटिङ गर्न आएका नाइबले मात्र २४ बलको सामना गर्दै ३ चौका र ३ छक्काको मद्दतले अविजित ४४ रन बनाए। उनलाई जेजे स्मितले अन्त्यमा साथ दिए। यसअघि, मध्यक्रममा कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै इनिङ्स सम्हालेका थिए।
उनले ४४ बलमा १ चौकासहित ३९ रन बनाएर आउट हुनुअघि टिमलाई जितको नजिक पुर्याएका थिए। लुम्बिनीको सुरुवात पनि राम्रो थियो। सन्दीप जोराले १८ बलमा ४ चौकासहित २८ रनको योगदान दिए भने ओपनर डार्सी सर्ट ११ रन र दिलिप नाथ १० रन बनाएर आउट भएका थिए। बलिङतर्फ चितवनका युवा बलर रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। सोहेल तन्भिरले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो। चितवनको सुरुवात निकै खराब रह्यो। इनिङ्सको दोस्रो बलमै स्टार ब्याटर डेभिड मलानलाई रुबेन ट्रम्पेलम्यानले बोल्ड गरे। ओपनर दीपक बोहरा (१०) र देव खनाल (१४) पनि सस्तैमा आउट भएपछि चितवन ४३/३ को नाजुक अवस्थामा पुगेको थियो।
संकटको घडीमा अनुभवी रवि बोपाराले टिमको इनिङ्स उकासे। बोपाराले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रन बनाए। कप्तान कुशल मल्लले १८ बलमा २१ रन र सैफ जैबले ७ बलमा १५ रन बनाउँदै टिमको स्कोर सम्मानजनक स्थितिमा पुर्याएका थिए। चितवनलाई कम स्कोरमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले घातक बलिङ गरे। उनले ४ ओभरमा २३ रन खर्चेर चितवनका महत्वपूर्ण ३ विकेट लिए। यस्तै, अभिषेक गौतम र ब्याटिङमा समेत चम्किएका गुलबदिन नाइबले २-२ विकेट लिए।