सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथा यातना दिएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरेन्द्रनगर–१२ मा बस्दै आएकी प्रेमकला रोकायलाई बोक्सी भन्दै दुर्व्यवहार गरेको उजुरीका आधारमा सोही स्थानमा बसोबास गर्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता बोहरालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूको स्थायी ठेगाना जुम्लाको तिला गाउँपालिका–२ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले जानकारी दिए। उनका अनुसार आफूमाथि अन्याय र हिंसा भएपछि पीडित प्रेमकलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गराएकी थिइन्।
उजुरीमा उल्लेख भएअनुसार आरोपीहरूले पीडितलाई “बोक्सी” भन्दै गालीगलौज गर्नुका साथै आफैँ धामी–झाँक्री बनेर चामलले हानेका र तातो पन्यू प्रयोग गरी शरीरका विभिन्न भागमा डामेका थिए।
सोही उजुरीका आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि आइतबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी बोक्सीको आरोपसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।