
काठमाडौँ । जनप्रशासन क्याम्पसमा MPA अन्तर्गत CMAT २०२६ को भर्ना प्रक्रियामा देखिएको अन्याय, अव्यवस्था तथा विद्यार्थीविरोधी निर्णयको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सशक्त आन्दोलन सुरु गरेको छ। स्ववियुका सदस्यसहित अन्य पदाधिकारी र सहायक सचिव हेमन्त शाहीको नेतृत्वमा विद्यार्थीहरूले क्याम्पस प्रशासनविरुद्ध तथा त्रिभुवन विश्वविद्यालयका निकायहरूमा दबाबमूलक कार्यक्रम सञ्चालन गरेका हुन्।
सिम्याट २०२६ परीक्षामा सहभागी भएका २ हजार ९ सयभन्दा बढी विद्यार्थीमध्ये करिब २४०० विद्यार्थी उत्तीर्ण भइसकेको अवस्थामा पनि भर्ना प्रक्रिया स्पष्ट र व्यवस्थित नहुनु, मिश्रित तथा अनलाइन मोड सम्बन्धी निर्णय अस्पष्ट रहनु र विद्यार्थीको अध्ययन अधिकार कुण्ठित हुनु गम्भीर विषय भएको शाहीले बताएका छन्।
उनले भने, ‘कसैलाई पनि पढाइबाट वञ्चित गर्नु हुँदैन। सकेसम्म सबै उत्तीर्ण विद्यार्थीलाई अध्ययनको अवसर सुनिश्चित गर्नु प्रशासनको नैतिक तथा संस्थागत दायित्व हो।,’ यस विषयमा आज स्ववियुले डीन कार्यालय, रेक्टर कार्यालय तथा रजिस्ट्रार कार्यालयमा औपचारिक रूपमा विज्ञप्ति बुझाइसकेको जनाउँदै शाहीले सम्बन्धित निकायहरूबीच तत्काल समन्वय गरी योग्यता सूचीको आधारमा निष्पक्ष, न्यायोचित र पारदर्शी ढङ्गले CMAT २०२६ मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीको भर्ना प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
समस्या समाधानप्रति क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालयका पदाधिकारी गम्भीर नदेखिएपछि विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्। शाहीले भने, ‘हाम्रो माग पूरा नभएसम्म तालाबन्दी खुल्दैन। यो आन्दोलन विद्यार्थीको भविष्य र शिक्षाको अधिकार जोगाउन गरिएको शान्तिपूर्ण संघर्ष हो।,’ उनले डीन कार्यालय, रेक्टर कार्यालय तथा रजिस्ट्रार कार्यालय तथा उपकुलपतिको कार्यालयलाई तत्काल समस्या समाधान नगरे त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सम्बन्धित निकायहरूले स्वयं बेहोर्नुपर्ने चेतावनी पनि दिएका छन्।