२०८३ वैशाख २६ , शनिबार

सुर्खेतमा भोलिदेखि स्थानीय कर्मचारी क्रिकेट कप सुरु



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा भोलि (बिहीवार)देखि ‘स्थानीय कर्मचारी क्रिकेट कप–२०८२’ सुरु हुने भएको छ। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेशको आयोजना तथा कर्णाली प्रादेशिक क्रिकेट संघ सुर्खेतको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

बुधवार आयोजित पत्रकार सम्मेलनमा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेशका संयोजक विक्रम शाहीले कर्मचारीबीच आपसी समन्वय, सम्बन्ध विस्तार र खेलकुदमार्फत प्रदेशको पहिचान बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेशमा पहिलो पटक स्थानीय तहका कर्मचारीहरूबीच यति ठूलो स्तरको क्रिकेट प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा कर्णाली प्रदेशका ८ जिल्लाबाट १२ वटा टिम सहभागी हुनेछन्। हुम्ला र जुम्लाबाट भने कुनै पनि टिम सहभागी नभएको जनाइएको छ। सहभागी टिमहरूलाई ४ वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। सबैभन्दा बढी टिम सुर्खेत जिल्लाबाट रहेका छन्। माघी पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता दुई वटा खेल मैदानमा सञ्चालन हुनेछ। खेलहरू माघ ५ गतेसम्म चल्नेछन् भने सोही दिन फाइनल खेल आयोजना गरिनेछ।

प्रतियोगिताको उद्घाटन भोलि (बिहीवार) कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्ने कार्यक्रम रहेको छ। संयोजक शाहीका अनुसार कर्मचारीलाई खेलकुदको संवाहकका रूपमा अघि बढाउन तथा आपसी सम्बन्धलाई अझ मजबुत बनाउन प्रतियोगिता आयोजना गरिएको हो। खेलमा सहभागी खेलाडीहरूलाई परिचयपत्र तथा सम्बन्धित पालिकाबाट प्रमाणित सिफारिस पत्रका आधारमा सहभागिता गराइनेछ।

प्रतियोगितामा विजेता टिमले १ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। उपविजेताले ५० हजार रुपैयाँ नगद, ट्रफी र मेडल तथा तेस्रो हुने टिमले मेडल प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार