२०८३ असार ९ , मंगलबार

प्रेमीसँगको तस्वीर राख्दै एलिनाले भनिन् – तिम्रो साथले मलाई जीवित राख्छ



काठमाण्डौँ । गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो । अस्ट्रेलियाको साङ्गीतिक भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएकी एलिनाले त्यहाँ रहँदा विष्णुसँग लगातार टिकटक भिडियोहरू पोष्ट गर्ने गरेकी थिइन् । अब भने एलिना आफ्नो प्रेम जीवन गुपचुप राख्ने मनस्थितिमा नरहेको देखिन्छ । उनले इष्टाग्राममा विष्णुसँगको तस्वीर राख्दै प्रेमिल शब्दहरु कोरेकी छिन् । उनले लेखेकी छिन्, –‘तिमीलाई सोचेर मेरा विपनाहरु बित्छन् । तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ । तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु ।’

एलिनाको उक्त पोष्टमा धेरैले बधाई दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु कार्यक्रम आयोजक समेत हुन् । उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णुले एलिनासँग ‘बाजा तालमा’बोलको गीतमा स्वर दिएका छन् । एलिना अस्ट्रेलिया जाँदा उनीहरूको सम्बन्ध थप झाङ्गिएको हो । निकटस्थका अनुसार एलिना र विष्णुको सम्बन्धबारे दुवैको परिवारलाई जानकारी छ । र, दुवैको परिवारमा विहेबारे कुरा समेत चलिरहेको बुझिएको छ । त्यसैले पनि एलिनाले आफ्नो प्रेम जीवनलाई खुलाउन थालेको बुझन् सकिन्छ ।

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार