२०८३ जेठ २० , बुधबार

दैलेखका चेतन सिंहको कारण हैदराबाद बस्ने १२ नेपाली बन्धक



चेतनसिंह ठकुरी

दैलेख । दुल्लुका चेतनसिंह ठकुरीले भारतमा गरेको अपराधिक क्रियाकलापका कारण मजदुरी गर्न गएका निर्दोष १२ जना नेपालीहरूको ज्यान खतरामा परेको छ । ठकुरीले आफ्नो परिवार बिचल्ली पारेको र लाखौँ धनमाल लुटेर फरार भएको भन्दै भारत हैदरावाद निवासी कुल्दीप सिंहले दैलेखका ४ महिलासहित १२ जना नेपालीलाई १० दिनदेखि बन्धक बनाएर राखेका छन् । उनकी श्रीमतीलाई सकुशल फिर्ता र चेतन सिंह ठकुरीको तत्काल गिरफ्तारी नभए बन्धक बनाएका सबै १२ जना नेपालीलाई मारिदिने उनले धम्की दिएका छन्।

 

बुधवार खबरदृष्टिसँग कुरा गर्दै पीडित कुल्दीपले चेतन सिंहले आफ्नो परिवार उजाडिदिएकाले ऊ सार्वजनिक नभए बन्धक बनाएका नेपालीहरुलाई मारिदिने बताए । आरोपित चेतनसिंह गत कार्तिक महिना भारतको हैदरावादमा कुल्दीपको सम्पर्कमा पुगेका थिए । उनले कुल्दीपलाई आयआर्जनको बाटो खोजिदिन अनुरोध गरेको हैदरावादमै नोकरी गर्ने कमल रावतले जानकारी दिए। कुल्दीपले आफ्नो पसल अगाडि राखेको ठेला मासिक २१ हजार तिर्ने सम्झौता गरी चेतनलाई दिएका थिए ।

 

रावतले ३ महिनासम्म ठेला चेतनले चलाएको र राम्रोसँग व्यापार नभएपछि भाडा तिर्न नसकेकोले नेपाल फर्कने बताउने गरेको चेतनका साथीहरूको भनाइ उद्धृत गर्दै जानकारी दिए । त्यसबिचमा कामको सिलसिलामा केही महिना अघि कुल्दीप बाहिर गएको मौका छोपी चेतनले उनकी श्रीमती र धनमाल लिएर गायब भएको रावतको भनाई छ । यस कारण भारतमा काम गर्ने धेरै नेपालीहरू अहिले जोखिममा रहेको रावतले बताए। उनले जुनसुकै बेला पनि भारतीयहरूले नेपाली माथि आक्रमण गर्न सक्ने भन्दै चेतनलाई खोजेर बुझाइदिन सबैलाई आग्रह गरेका छन्।

 

उनले नेपालको प्रहरी प्रशासनलाई चनाखो बनी कुल्दीपको परिवारलाई न्याय दिन पनि अनुरोध गरेका छन् । सिंहको भारत हैदराबादमा मिठाई पसल रहेको छ । उनले पसलको सामुन्ने ठेला राखेका थिए । जसलाई भारतमा कामको खोजीमा गएका दैलेख निवासी चेतनसिंहले मासिक २१ हजार तिर्ने सर्तमा गत कार्तिक महिनामा भाडामा लिए। ठेलामा चाइनिज फास्ट फुडको व्यापार गरिन्थ्यो। ठेला मालिक कुल्दीप सिंहका अनुसार चेतनले व्यवसाय राम्रो नभएको भन्दै ३ महिनाअघिदेखि मासिक भाडा तिरेका थिएनन् ।

 

कुल्दीप काम विशेषले राजस्थान गएको मौका छोपी उनकी श्रीमती कविता काफियालाई लिएर फरार भएको जानकारहरु बताउँछन् । फरार हुँदा उनले परिवारका अन्य सदस्यहरूलाई बेहोस पार्ने औषधी खुवाएर नगद र सुन लिएर बेपत्ता भएका थिए । पीडित कुल्दीपका अनुसार चेतनले उनको श्रीमती, २ थान ल्यापटप, करिब १८ लाख नगद भारतीय रुपैयाँ र ६० तोला सुनसहित बेपत्ता भएका हुन । उनले बेपत्ता भएको केही दिन पछि बैङ्लोरबाट श्रीमतीको फोन आएको बताए ।

 

उनले अपहरणमा परेकी श्रीमतीले काम गर्ने कुनै घरबाट फोन गरेको हुनसक्ने बताए । उनले श्रीमतीको भनाइ उद्धृत गर्दै भने, “मलाई चेतनले “ब्याकमेल” गर्दै छ । म आफै आएको होइन, चेतनले अश्लील भिडियो सामाजिक सञ्जालमा हाल्दिन्छु भनेर दबाब दिएपछि उसको पछि लागेकी हुँ । अहिले पनि धम्की दिइरहेको छ । मलाई छिटो मुक्त गरिदिनुस् ।” कुल्दीप श्रीमतीलाई खोज्न बैङ्लोर पुगे पनि उनलाई त्यहाँ फेला पार्न सकेनन्। उनलाई कसैले आफू आउने सुइँको दिएकाले त्यहाँबाट फरार भएको  हुनसक्ने सिंहको भनाई छ ।

 

त्यसपछि अहिलेसम्म उनको श्रीमती र चेतन सम्पर्कमा नआएको उनको भनाइ छ । त्यसपछि चेतनले कुल्दीप तथा उनको छोरालाई फेसबुक म्यासेजबाट धम्की दिने गरेको बताए। चेतनले कुल्दीपलाई उसको श्रीमतीलाई रखेल बनाएको र  सुनको अण्डा दिने कुखुरा जस्तै भएको भन्दै फेसबुकबाट मेसेज पठाएको कुल्दीपले बताए।  कुल्दीपले चेतनले पठाएको फेसबुक म्यासेजलाई स्क्रिनसट गरेर पठाएका छन्, जसमा लेखिएको छ, “त मेरो केही उखाड्न सक्दैनस् । म ऊ सँग मस्ती गरिरहेको छु । पिण्टुलाई मस्ती गरेको भिडियो पनि पठाएको थिए । मेरो के बिगार्यो, उल्टो आफै मर्‍यो । अब त पनि मर ।”

 

उनले अघि लेखेका छन्,  “बाउँको छोरा होस भने यसलाई लगेर जा । मेरो बाल हल्लिने वाला छैन । तिमीहरू सबै मरे पनि मलाई कसैले केही गर्न सक्दैन ।” उनले म्यासेजमा अधिकांश अश्लील, असभ्य र फोहर शब्द प्रयोग गर्दै परिवारलाई थप पीडा मात्र दिएका छैनन् आत्महत्या दुरुत्साहन समेत गरिरहेको देखिन्छ। अहिले भने उनले फेसबुक बन्द गरी बेपत्ता भएका छन् । कुल्दीपले उनको छोरालाई घाँटी दबाएर मारेको बताएपनि सिंहले उनकी आमासँगको अश्लील भिडियो पठाएपछि सहन नसकेर आत्महत्या गरेको देखिन्छ।

 

घटनाबाट विक्षिप्त भएकी उनकी जेठी छोरीले आत्महत्या गर्ने उद्देश्यले एसिड सेवन गर्दा अहिले मृत्यु र जीवनको दोदासमा अस्पतालको आइसियुमा उपचाररत रहेको रावतले खबरदृष्टिलाई बताए । भारतीय परिवारलाई अमानवीय हर्कत गरिरहेका चेतन सिंहको अवस्थाबारे प्रहरी पनि बेखवर छ । स्थायी घर दैलेख भएकाले पीडितले दैलेख प्रहरीलाई उनको खोजी गरिदिन मौखिक अनुरोध गरेका छन् । तर नियमानुसारको उजुरी भने आएको छैन ।

 

जिल्ला भित्र व्यवहारिक रूपमा खोजी कार्य गरिरहेको र बारम्बार उनको घरसम्म पुगे पनि घरमा फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए । ‘घटना भारतमा घटेकाले अन्तर जिल्लाहरूमा पनि खोजी गर्न सकेका छैनौँ । हामीलाई इन्टरपोल अथवा एम्बेसी मार्फत लिखित उजुरी आउनु पर्ने थियो । अहिलेसम्म त्यस्तो केही पनि आएको छैन् । उनले भने ‘उहाँहरूले भारतको प्रहरीकोमा उजुरी दिनुपर्छ अनि हामीलाई इन्टरपोल आएपछि हामीले प्रहरीको सक्रियतालाई अगाडि बढाउँछौ ।’

 

केही दिन बैङ्लोर तथा मुम्बईमा लुकेर बसेका चेतन हाल नेपालमै लुकिछिपी बसेको हुनसक्ने पीडित कुल्दीपको दाबी छ । चेतन सिंह र कविता काबिया (कुल्दीपकी श्रीमती) का बारेमा सूचना दिने व्यक्तिलाई ८० हजार भारतीय रुपैयाँ पुरस्कार दिने पीडित कुल्दीपले खबरदृष्टिलाई बताए ।

प्रकाशित मिति : २०७९ चैत ३० गते बिहीबार