सुर्खेत । भेरीगंगामा आइतबार झुन्डिएको अवस्थामा फेला परेकी महिलाको रहस्यमय मृत्यु भएको बुझिएको छ । आइतबार बिहान साढे ८ बजेको समयमा भेरीगंगा नगरपालिका १० बस्ने वर्ष २० कि सन्तोषी लम्साल काेठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनी मृत फेला परेपछि घरबेटीले माइती तथा प्रहरीलाई खबर गरेका थिए ।
उनको खबर पछि माइती तथा प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । प्रहरी घटना स्थलमा पुगेको बेलामा उनी झुन्डिएको रुमाल उनका श्रीमानले काटेका थिए । त्यो रुमाल काटेको देखेपछि प्रहरीले लम्सालेको मृत्यु रहस्यमय भएको बताएको छ । बिहान श्रीमान् नुहाउन भनी बाथरुममा गएको बेला उनी झुन्डिएको प्रहरीले खबरदृष्टिसँग बताएको छ ।
श्रीमानको भनाइलाई उद्धृत गर्दै प्रहरीले खबरदृष्टिसँग भन्यो ‘शनिवार राति घरमा केही सामान्य विवाद भएको थियो, हाम्रो बोलचाल पनि भएको थिएन, मैले थोरै मदिरापन गरेको थिए, बिहान म नुहाउनलाई बाथरुम गएको थिए, श्रीमतीले घरको कोठामा भएको पङ्खामा रुमाल हालेर पासो लगाइछन् । प्रहरीले घरायसी विवाद र उनले प्रहरीलाई केही जानकारी नदिएको हुँदा घटना केही रहस्यमय भएको बताएको छ ।
‘उहाँले हामीलाई खबर पनि गर्नुभएन, माइतीलाई पनि खबर गर्नुभएन छ, घरबेटीले खबर गर्नुभएछ ।’ प्रहरीका एक जनाले खबरदृष्टिसँग भने, ‘हामी घटनास्थलमा गएको बेला पासो लगाएको रुमाल उहाँले नै काट्नुभएछ त्यसैले पनि यो घटना अलि रहस्यमय नै देखिन्छ, तर हामीले अनुसन्धान थालेको हुँदा अहिले नै केही पनि भन्न मिल्दैन, हामीले उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छौ ।’
यता, माइतीले भने उनले आत्महत्या नगरेको दाबी गर्दै श्रीमानले हत्या गरेको आरोप लगाएका छन् । ‘अघिल्लो राति घरमा झैँ-झगडा पनि भएको रहेछ ।’ उनका छिमेकी मामा राजेन्द्र सिंहले खबरदृष्टिसँग भने, ‘हामीलाई पनि उहाँले जानकारी दिनुभएन, उहाँले आफ्नो नम्बर समेत स्वीचअफ गर्नुभएको थियो, साथै हामी आउनुभन्दा पहिले नै पासो लगाएको रुमाल काट्नुभएछ, त्यसैले हामीलाई श्रीमानमाथि धेरै शङ्का लागेको छ । उनले भने ।
मृतकका श्रीमान् भेरीगंगा नगरपालिकामा कार्यरत रहेका कर्मचारी समेत भएको प्रहरीले जनाएको छ । उनीहरूको २०७९ जेठमा भागी बिहे भएको थियो । माइतीले श्रीमानले मारेको आरोप लगाएका छन् भने, श्रीमानले आफूले यस्तो गर्दै नगरको दाबी गरेका छन् ।
माइतीद्धारा प्रहरीमा किटानी जाहेरी
मृतकका माइतीले सोमवार बिहान इलाका प्रहरी कार्यालय छिन्चुमा किटानी जाहेरी दिएका छन् । उनीहरूले केटासहित पाँच जना विरुद्ध किटानी जाहेरी दिएको प्रहरीले बताएको छ । ‘उहाँहरूले सोमवार बिहान मात्रै किटानी जाहेरी दिनुभएको छ, हामीले अनुसन्धान थालेका छौँ, तर अहिले नै सबै भन्न मिल्दैन ।’ एक जना प्रहरीले भने ।’ पोष्टमार्टम हुँदै छ, त्यसपछि मात्रै सबै कुरा हामीले तपाईँलाई जानकारी दिन्छौँ ।’ यता, मृतकका श्रीमान् पनि इलाका प्रहरी कार्यालयको हिरासतमै भएको प्रहरीले जनाएको छ ।
मेहलकुना अस्पतालमा पोष्टमार्टम गरिएन
प्रहरीले आइतबार साँझ पोष्टमार्टमका लागि मेहलकुना अस्पताल सुर्खेतमा पठाएको थियो । तर आइतबार पठाएको शवको सोमवारसम्म पनि पोष्टमार्टम हुन नसकेपछि अस्पतालले भेरी अस्पताल नेपालगन्ज पठाएको छ । अस्पतालमा पोष्टमार्टमका लागि चाहिने सामाग्री तथा फरेन्सी चिकित्सक नहुँदा पोष्टमार्टमका लागि शवलाई नेपालगन्ज पठाएको अस्पतालका प्रशासन नासु नवीन रावतले जानकारी दिए ।
उनले आफन्तले मेहलकुनामै पोष्टमार्टम गर्न माग गरे पनि विवाद आउन सक्ने त्रासका कारण पोष्टमार्टम गर्न नसक्ने भन्दै नेपालगन्ज पठाएको बताए । उनले मृतकका घरपरिवार र माइतीपरिवार बिच पनि विवाद भएकोले शवको पोष्टमार्टम गर्न झनै समस्या भएको बताए । ‘माइतीपक्ष र घरपरिवार पक्ष धेरै विवाद भएको थियो, एक अर्काले आरोप प्रत्यारोप लगाइरहनुभएको थियो ।’
उनले भने, ‘त्यसैले झनै हाम्रो अस्पतालमाथि नै प्रश्न उठ्ने भएकाले हामीले नेपालगन्ज पठाएको छौ, र हाम्रोमा शव परीक्षणको लागि भने जस्तो मेशिन पनि छैन, शव राख्ने मर्जरी बक्स पनि छैन । त्यसैले हामीले चिठी लेखेर नेपालगन्ज पठाएका छौँ । उनले भने । यता, माइतीले भने अस्पतालले शवको पोष्टमार्टम गर्न नमानेको आरोप लगाएको छ ।
मृतक लम्सालको माइती घर सिम्ता गाउँपालिका वडा नम्बर ६ राकम भएको प्रहरीले बताएको छ । बिहे भएको एक वर्षमै उनको मृत्यु भएको हो । सन्तोषीले जेठ २०७९ मा सिम्ता गाउँपालिका—६ राकमकै बालकृष्ण चित्रकारसँग भागी गरेकी थिइन् ।