२०८३ वैशाख ४ , शुक्रबार

कर्णालीको खेलकुद विकासलाई अगाडि बढाउन सरकार अग्रसर भइरहेको छ : मन्त्री पोखरेल



सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले कर्णालीको खेलकुद विकासलाई अगाडि बढाउनका सरकार अग्रसर भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको खेलकुद पत्रकारितासम्बन्धी दुई दिने तालिममा उनले यस्तो बताएका हुन् ।

उनले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद चुनौतीसँगै अवसरको पनि विषय भएको बताए ।उनले अहिले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेको बताए । १०औं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने उनको भनाइ छ । उनले त्यसका लागि अन्य जिल्लाहरुमा पनि आवश्यक संरचनाहरु बनाउन आवश्यक रहेको बताए ।

आर्थिक अभावका बीचमा पनि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेको छ । गौरवको रंगशालाको काम अहिले धमाधम भइरहेको छ । उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यहाँका दशवटै जिल्लामा भौतिक संरचना निर्माणको तयारी भइरहेको बताए । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले पत्रकार महासङ्घले सञ्चालन गरेको खेलकुद पत्रकारिताले विधागत पत्रकारितामा सहयोग पुर्याउने टिप्पणी गरे ।

तालिमले खेल क्षेत्रसँग सम्बद्ध रहेर पत्रकारको सीप र दक्षता वृद्धि हुने उल्लेख गर्दै उनले दशौँ राष्ट्रिय खेल प्रतियोगिताको आयोजक प्रदेश कर्णाली भएकाले प्रदेश रङ्गशालाको निर्माणकार्य तीव्ररूपमा अगाडि बढेको जनाए । उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा हिमाली जिल्लामा पनि खेल क्षेत्र विस्तार भएकाले भूगोल केन्द्रित भएर सरकारले बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा प्रशिक्षक भानुभक्त अधिकारीले प्रदेशका खेल क्षेत्रका सवाल र चुनौती, प्रकाश तिमिल्सिनाले खेल रिपोर्टिङ र त्यसका प्रकार तथा पवन आचार्यले खेल रिपोर्टिङको आधारभूत सिद्धान्त, लेखन विधि र अन्तर्वार्ता सीप तथा रणनीतिका विषयमा प्रशिक्षण दिने महासङ्घका प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुस १८ गते बुधबार