२०८३ वैशाख २६ , शनिबार

मन्त्रीहरुले पनि मोटरसाइकल चढ्नुपर्छ भन्दै भाषण गर्ने जीवनबहादुर शाही अहिले प्राडोमा



सुर्खेत १५ असार

२०७७ साल जेठ २२ गतेको कर्णाली प्रदेशसभा बैठकमा बोल्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले भनेका थिए, ‘हाम्रो प्रदेश गरिब छ, मुख्यमन्त्री र मन्त्रीहरुले समेत गाडी होइन, मोटरसाइकल चढ्नु पर्छ ।

त्यसपछि उनले विपक्षी दलको नेताका हैसियतमा प्रदेशसभा सचिवालयबाट पाएको स्कारपियो गाडी पत्रकारको रोहबरमा फिर्ता गरेर मोटरसाइकल चढे । उनले गाडी फिर्ता गरी मोटरसाइकल चढेको विषयले निकै चर्चा पायो ।

तर मोटरसाइकल चढ्न थालेको डेढ महिनापछि फेरि सरकारी गाडीमा हुइँकिन थालेका छन् । त्यो पनि चानचुने होइन, प्राडोमा । मुख्यमन्त्रीबाट सरकारी गाडी उपहार पाएपछि अनैतिक तरिकाले त्यसमा रातो नम्बरप्लेट हालेर चढिरहेका छन् शाही ।

गाडी छाडेर मोटरसाइकल चढ्ने घोषणा गर्दै नेता शाहीले भनेका थिए, ‘जनता खान नपाएर बसिरहेका छन् । हामीले महङ्गा गाडी चढ्नु हुँदैन । मुख्यमन्त्री र मन्त्रीहरुलाई गाडी चढ्नै मन भए पनि सस्ता गाडी प्रयोग गर्न सुझाव दिन्छु ।’

प्रतिपक्षी दलबाट सत्ता पक्षको सांसद भएपछि अहिले उनले लिँदै आएको सबै सरकारी सेवासुविधा फिर्ता लिएको छ । वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेस सत्तापक्षको भयो । त्यसपछि वैशाख ५ गते सचिवालयले प्रतिपक्षी दलको नेताका हैसियतमा शाहीले प्रयोग गरेको गाडी फिर्ता लिएको थियो ।

२०७५ मंसिरमा प्रदेशसभाले पारित गरेको ‘कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’मा सेवा(सुविधासम्बन्धी व्यवस्था छ । ऐनमा प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र प्रदेशसभाका विभिन्न समितिका अध्यक्षलाई गाडी सुविधा दिने उल्लेख छ ।

श्रीमतीलाई लोकसेवा आयोगमा नियुक्ति, चौतर्फी आलोचना

कांग्रेस नेता शाहीले कर्णाली प्रदेश सरकामा सहभागी हुने मन्त्रीहरुलाई १३ बुँदे आचारसंहितामा हस्ताक्षर गर्न लगाएर सपथ खान पठाएका थिए । आचारसंहितामा भ्रष्टाचार शून्य सहनशिलताको नीतिलाई अबलम्वन गर्नेदेखि आर्थिक अनुशासन, स्वच्छता, मितव्ययितासँगै सादा जीवन अपनाउनेसमेत उल्लेख गरिएको थियो । तर, आफ्नै श्रीमतीलाई प्रदेश लोकसेवा आयोगमा सिफारिस गरेपछि उनको आलोचना भएको छ ।

सिफारिस समितिका सदस्य रहेका नेता शाहीले श्रीमतीलाई आयोगमा सिफारिस गरेका हुन् । सिफारिस समितिमा प्रदेशका मुख्यमन्त्री र सभामुख पनि थिए ।

नेपाली कांग्रेसका नेता टिएन योगीले लोकप्रियता र मिडिया खपतका लागि जे पनि बोल्नु र व्यवहारमा नउतार्नु दुखद भएको प्रतिक्रिया दिएका छन् ।

साभार : नेपाल प्रेस

प्रकाशित मिति : २०७८ असार १५ गते मंगलबार