२०८३ वैशाख २६ , शनिबार

लेकवेशीमा एमालेको भेलाः आगामी चुनावमा सवै वडा जित्ने दाबी



सुर्खेत १०, भदौं

नेकपा एमाले लेकवेसी वडा नं १० को कार्यकर्ता भेला स्थानीय पोखरीचौरमा सम्पन्न भएको छ। नेकपा एमाले सुर्खेतले वडा केन्द्रित भेलाहरु सवै पालिकाका वडाहरुमा अन्तिम चरणमा पुगेको छ।

भेलालाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्वकुमार शाहीले कम्युनिस्ट पार्टीले नै समाज रुपान्तरण गर्ने र त्यसको नेतृत्व एमालेले गर्ने वताए। नेकपा कालमा नेता धेरै हुँदा कार्यकर्ता विचमा पुग्नै नसकेको स्वीकार गर्दै अब पार्टीले गति लिने दाबी गरे। कम्युनिस्ट पार्टीको मुलधार नेकपा एमाले भएकोले विगतका घटनाहरुवाट पाठ सिक्दै सवै नेता कार्यकर्ता अघि वढ्नुपर्ने उनको भनाइ थियो।

नेकपा एमालेको सरकारले गरेका कामहरूको चर्चा गर्दै मदन भण्डारी राजमार्ग एमालेको सरकारले टेण्डर गरिसकेको र तिहारपछि निर्माण सुरु हुने जानकारी दिए। एमाले सरकारले सवै स्थानीय तहहरुमा अस्पताल र देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराएको वताए।फाष्टट्रयाक रोड, तेस्रो देश जान चीनसंग पारवहन संझौता लगायतका कामहरु गरेको दाबी गरे।

अध्यक्ष शाहीले आन्दोलनको वलमा भूमि सम्वन्धी समस्या समाधान आयोगले सुरु गरेका कामहरु गराईने वताए। सुकुम्बासीहरुका समस्या समाधान गर्न २०५२ सालवाट एमालेले काम सुरु गरेको र कांग्रेसले अवरोध गर्दै आएको आरोप लगाए। ‘यो आयोगले केही महिनाभित्रै सुकुम्बासीका हातहातमा लालपुर्जा उपलब्ध गराउने तैयारी गरेको थियो। तर, वर्तमान सरकारले आयोग नै विघटन गरिदिएको छ,’ उनले भने।

सुकुम्बासी र भूमिहीनहरुको एजेन्डा वोक्ने पार्टी देशमा एमाले मात्रै भएको उनले वताए। एमालेले २०५२ वाट सुरु गरेको महिनाको १ सय रुपैया सामाजिक सुरक्षा भत्तालाई महिनाको ५ हजार पुर्‍याउने लक्ष्य रहेपनि आफुहरुलाई पूरा अवधि काम गर्न नदिएर गिराईएको उनले आरोप लगाए।

नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य खड्कवहादुर खत्रीले पार्टी भित्रै वसेर छलछाम गर्नुभन्दा पार्टी छोडेर जानू उपयुक्त हुने वताए। विकास निर्माणमा हुने अनियमितता र भ्रष्टाचारलाई एमाले कार्यकर्ताहरुले खवर्दारी गर्नुपर्ने उनको भनाइ थियो।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेश सदस्य कुलमणि देवकोटाले सर्वोच्च अदालत कांग्रेसको पपेट भएको वताए। कांग्रेसले गरेको संसद विघटन सदर गर्ने तर एमालेले गरेको विघटन वदर गर्ने अदालतले विगतदेखि नै कांग्रेसको पक्षपोषण गरिरहेको आरोप लगाए। भारतले गरेको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नेहरुले अहिले सरकार चलाईरहेकोले यो सरकारवाट जनताले धेरै आशा नगरेको उनको धारणा छ।

भेलामा लेकवेसी नगरपालिकाका प्रमुख गगनसिं सुनारले केपी ओलीको नेतृत्वको एमाले पार्टीले आगामी निर्वाचन सजिलै जित्ने दाबी गरे। अप्ठ्यारो परेको वेला मात्रै कार्यकर्ता सम्झिने वानी आफुहरुमा भएकोले यसलाई आजैदेखि हटाउनुपर्नेमा जोड दिए। यसअघि कांग्रेसले लेकवेसीका केही वडाहरु जितेपनि अब चाहिँ नेकपा एमालेले जित्ने दाबी गरे। कार्यकर्ता सामु भेलामा आफ्नो कार्यकालमा गरेका कामहरूको उनले फेहरिस्त प्रस्तुत गरेका थिए।

एमाले प्रदेश कमिटी सदस्य चन्द्रलाल पौडेल (सोफान) ले प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट हटाउन गरेको अपराधवाट नै नेकपा विभाजन भएको ठोकुवा गरे। एमाले प्रदेश सभा सदस्य एवम् प्रदेश ईन्चार्ज यमलाल कँडेलसंग आफुले माओवादी छोड्नु अघि वार्ता गरेको र त्यसपछि एमाले पार्टीमा सहभागी भएको वताए।

एमालेवाट समाजवादीमा जाने भन्दा माओवादीवाट एमालेमा आउनेहरुको संख्या ठूलो भएकोले एमाले विशाल पार्टी वन्ने वताए। ‘केपी शर्मा ओलीले गरेको कुशल राजनीतिक नेतृत्ववाट अत्तालिएर देशभित्र र वाहिरका प्रतिकृयावादीहरुले माधवकुमारलाई प्रयोग गरि सरकार ढाले,’ पौडेलले भने।

एमाले लेकवेसी नगर कमिटी अध्यक्ष टिकाराम सोमैले लेकवेशी नगरपालिकामा पार्टी पहिलेको तुलनामा निकै वलियो भएको दाबी गरे। लेकवेसीमा हुने आगामी निर्वाचनमा सवै वडा एमालेले जित्ने उनको दाबी थियो।

एमाले सुर्खेत जिल्ला कमिटी सदस्य देववहादुर रानाले पार्टीले कार्यक्रमहरु गर्दा प्रवचन शैलीमा नगरी अन्तर्कियात्मक हिसाबले गर्नुपर्ने सुझाव दिए। एमाले भित्र पार्टी प्रशिक्षण नभएको २० वर्ष भन्दा वढि भएकोले कार्यकर्ताहरुमा विच्छृङ्खलता हावी भएको वताए।
नेकपा एमाले लेकवेसी नगर कमिटी सचिव सीताराम पौडेलले लेकवेसीको वडा नं १० मा एमालेले गत स्थानीय तहको निर्वाचन राम्रो व्यवस्थापन गर्न नसक्दा हारेको खुलासा गरे।

लेकवेसी नगर पालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले सुर्खेतको पार्टी एकतावद्ध वनाउन नेताहरुले खेलेको भूमिका महत्त्वपूर्ण रहेको वताईन। उनले पार्टी कमिटीहरु चलायमान गराउन प्रशिक्षण कार्यक्रमहरु चलाउनु जरुरी भएको सुझाव दिईन।

लेकवेशी वडा नं १० कमिटीका अध्यक्ष वालाराम पौडेलले आफुलाई समाजवादी पार्टीको जिल्ला कमिटी सदस्यमा नाम राखेर बदनाम गर्न खोजेको भन्दै आपत्ति प्रकट गरे। अध्यक्ष पौडेलको सभापतित्वमा भएको कार्यक्रममा वडाका १ सय ५० वढि एमालेका अगुवा कार्यकर्ताहरु उपस्थिति भएका थिए।

प्रकाशित मिति : २०७८ भदौ १० गते बिहीबार