
काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो खेलमा आज लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ। र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित टोली तालिकाको छैटौं स्थानमा छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले काठमाडौंभन्दा दुई खेल बढी खेलेको छ। लुम्बिनीका लागि बुधबार छैटौं खेल हुनेछ। लुम्बिनीको पनि समान दुई अंक नै छ। प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प छैन। गर या मरको स्थितिमा रहेको लुम्बिनी काठमाडौंविरुद्ध पराजय बेहोरे लिग चरणबाट बाहिरिने पहिलो टोली बन्नेछ।
किनभने शीर्ष चारमा रहेका टोलीहरुले ६ अंक बटुलिसकेका छन्। लुम्बिनीविरुद्धको हारले काठमाडौंको प्लेअफ यात्रालाई गाह्रो बनाउन सक्छ। फेरि काठमाडौंले लुम्बिनीपछि बिहीबार शीर्ष स्थानको जनकपुर बोल्ट्सको सामना गर्नेछ। दिनको पहिलो खेलमा शीर्ष दुई स्थानमा रहेका जनकपुर र सुदूरपश्चिमले एकअर्काको सामना गर्नेछ।