
काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा क्रिकेटमा आज (बुधवार) पनि दुई खेल हुँदैछन् । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । आज बिहान ९ बजे सुरु हुने पहिलो खेललाई धेरैले प्रतीक्षा गरिरहेका छन् । कारण, लयमा रहेका दुई टोली जनकपुर र सुदूरपश्चिम आमने–सामने हुँदैछन् ।
जनकपुरले सुरुवाती दिनदेखि नै गरेको उच्च प्रदर्शन कायम राखेको छ । उसले चार खेल खेल्दा सबैमा शानदार जित निकालेको छ । अर्कोतिर सुदूरपश्चिमले पनि लगातार तीन खेल जितेको थियो । तर चौथो खेलमा भने उ चितवन राइनोजसँग पराजित भएको थियो ।
यी दुवै टोलीका समर्थक यतिबेला आफ्नो टोली बलियो भएको तर्क गरिरहेका छन् । यसर्थ यी दुई टोलीबीचको आजको खेल खाली नतिजाका लागि मात्र नभएर प्रतिष्ठाको लगाइँको रुपमा पनि हुने देखिन्छ । जनकपुर र सुदुरपश्चिम भेट हुँदा अर्को रोचक पक्ष पनि देखिने छ । सहोदर दाजु–भाइ एक–अर्काका प्रतिद्वन्द्वी हुनेछन् ।
भाइ आसिफ शेखले जनकपुरबाट तथा दाजु आरिफ शेखले सुदूरपश्चिमबाट खेल्नेछन् । पर्साका यी दुवै दाजु–भाइ नेपाली राष्ट्रिय टोलीका सदस्य हुन् । यसर्थ यी दुईबीचको आमने–सामने पनि आज रोचक हुने अनुमान छ । आसिफ विकेटकिपर र ओपनर ब्याटर हुन् भने आसिफ अलराउन्डर हुन् । आज जनकपुरले जितेमा उ प्लेअफमा जाने निश्चित हुनेछ । जनकपुरको कप्तानी अनिलकुमार साहले तथा सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।