काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको खेलमा रोमाञ्चक रुपमा पोखरा एभेन्जर्सले जित हासिल गरेको छ । पोखराले विराटनगर किंग्सलाई सुपर ओभरमा १३ रनले पराजित गरेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलकै पहिलो सुपर ओभरमा विराटनगरले कमजोर प्रदर्शन गर्यो । १९ रनको लक्ष्य पछ्याएको विराटनगरले मात्र पाँच रन बनाउन सक्यो ।
जितसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कायमै छ । विराटनगरको पनि झिनो सम्भावना बाँकी छ ।सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले १८ रन बनायो । रेमन रेफरले अविजित १७ रन बनाए ।त्यसअघि १४० रनको लक्ष्य पछ्याएको पोखराले ६ विकेट गुमाउँदै १३९ रन बनाएपछि खेल बराबरी भएको थियो । पोखराका लागि एन्ड्रिज गौसले ३९,कुशल मल्लले ३१ रन बनाए ।
रेमन रेफर भने ३४ रनमा अविजित रहे । विराटनगरका लागि प्रतिश जिसीले ४ र क्रिश सोलले २ विकेट लिए। टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो । विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाए । सो क्रममा उनले ३५ बलमा ५ चौका प्रहार गरे । लोकेश बामले २६, निकोलस कितर्नले १९ र बसिर अहमदले अविजित २१ रन बनाए ।
पोखराका लागि सागर ढकालले र रेमन रेफर २–२ तथा कुशल भूर्तेलर दिनेश खरेलले १–१ विकेट लिए । यस जितसँगै २ अंक जोडेको पोखरा ४ अंकसहित अंकतालिकाको छैंटौं स्थानमा उक्लिएको छ । पराजित विराटनगर भने २ अंकसहित पुछारमा छ । ५ खेलमध्ये ४ मा जित हासिल गरेको सुदूरपश्चिम रोयल्स ८ अंकसहित शीर्ष स्थानमा छ । ५ खेलमध्ये ४ मा जित हासिल गरेको जनकपुर बोल्ट्स ८ अंक सहित दोस्रो स्थानमा छ ।
३ खेलमा जित हासिल गरेको चितवन राइनोज ६ अंकसहित तेस्रो स्थानमा छ । ३ खेलमै जित हासिल गरेको कर्णाली याक्स ६ अंकसहित चौथो स्थानमा छ । ४ खेलबाट २ मा जित हासिल गरी ४ अंक जोडेको काठमाडौं गुर्खाज पाँचौं स्थानमा छ । बुधबार लिग चरणबाट बाहिरिएको लुम्बिनी लायन्स भने २ अंकसतिह सातौं स्थानमा छ । अब अर्को खेलमा काठमान्डु गुर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।