काठमाडौं । अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, तोकिएको समयभन्दा बढी बस्ने, अमेरिकी कानुन उल्लंघन गर्ने र आपराधिक गतिविधिमा संलग्न भएका कारण उनीहरूको भिसा रद्द गरिएको हो ।
विदेश मन्त्रालयका अनुसार, धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने तथा आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित छन् । ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भन्नेबारे मन्त्रालयले स्पष्ट पारेको छैन ।
ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिअन्तर्गत गरिएको यो कदममा प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीलाई यहुदी–विरोधी गतिविधिको आरोपमा पनि कारबाही गरिएको छ । रद्द गरिएका भिसामध्ये करिब ४ हजार कानुन उल्लंघनका कारण रद्द गरिएको र २००–३०० भिसा ‘आईएनए ३(बी)’ अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा रद्द गरिएको मन्त्रालयले जनाएको छ ।