‘बिदाइ तस्बिर’ भन्दै हमासले राख्यो ४८ जनाको फोटो, नेपालका विपिन पनि

खबर दृष्टि
खबरदृष्टि संवाददाता ४ आश्विन २०८२, शनिबार २०:१७

काठमाडौँ । गाजामा रहेका इजरायलीसहित विभिन्न देशका ४८ जना बन्दीहरूको तस्वीर हमासको सशस्त्र विंग कसम ब्रिगेड्सले सार्वजनिक गरेको छ। हमासले यसलाई ‘विदाई तस्वीर’ नाम दिएको छ। यसबीच इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र ध्वस्त पार्दै कब्जा गर्ने कार्य तीव्र बनाएको छ।

शनिबार कसम ब्रिगेड्सले अनलाइनमार्फत सार्वजनिक गरेको तस्वीरमा जीवित र मृत सबै बन्दीको अनुहार देखाइएको थियो। ती सबैको फोटोमाथि ‘रोन अराड’ भनेर लेखिएको थियो। जसमा नेपाली विपिन जोशीको तस्बिर समेत समावेश छ । सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अराडको सन्दर्भ दिँदै यस्तो गरिएको हो।

अराडको एफ-४ फ्यान्टम युद्धविमान दक्षिण लेबनानमा आक्रमणका क्रममा दुर्घटनाग्रस्त भएको थियो। उनलाई अमल मूभमेन्टले कब्जा गरी पछि हिज्बुल्लाहलाई बुझाएको मानिन्छ। उनको मृत्यु भएको विश्वास गरिए पनि अझै ठोस प्रमाण भेटिएको छैन। हमासले तस्वीरसँगै लेखेको सन्देशमा भनिएको छ, ‘नेतान्याहुको अस्वीकार र (इजरायली सेनाप्रमुख) जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुनु अगाडि विदाई तस्वीर प्रकाशित गरिएको हो।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्य गर्ने कुनै सम्झौतामा सहमति जनाउन लगातार अस्वीकार गरेका छन्। यता सेनाप्रमुख एयाल जामिरले सार्वजनिक रुपमा आपत्ति जनाए पनि गाजा सिटी कब्जा गर्ने योजनाअन्तर्गत इजरायली स्थल तथा हवाई आक्रमण विस्तार भइरहेका छन्। इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दी जीवित रहेको विश्वास गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोभन्दा कम हुन सक्ने बताएका छन्।

नेतान्याहु र ट्रम्प दुवैले जीवित र मृत सबै बन्दी फर्काउने र हमासलाई ध्वस्त गर्ने घोषणा गरेका छन्। हमासले इजरायली आक्रमण र स्थलयुद्ध तीव्र भए कैदीहरूको ज्यान जोखिममा पर्ने चेतावनी दिंदै आएको थियो। उसले केही बन्दीहरू इजरायली बमबारीमै मारिएको दाबीसमेत गरेको छ। गाजा सिटीका विभिन्न बस्तीहरूमा बन्दीहरू राखिएको पनि हमासको भनाइ छ।

शनिबार हमासले गरेको चेतावनीसँगै तेल अविवसहित विभिन्न सहरमा फेरि लाखौँ इजरायली सडकमा उत्रिएर युद्ध अन्त्य गर्न र बन्दीको तत्काल र व्यापक सम्झौतामार्फत मुक्तिको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्ने तयारीमा थिए। यसअघि यही महिना हमासले दुई जना इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको थियो। त्यसअघि उसले भोकमरीग्रस्त दुई अन्य बन्दीको भिडियो देखाएको थियो, जसमा एकलाई आफ्नै चिहान खन्ने दृश्यसमेत देखाइएको थियो।

यी भिडियोहरूले बन्दी परिवार, इजरायली अधिकारी र अमेरिकासहितका सहयोगी मुलुकमा व्यापक आक्रोश पैदा गरेको थियो। अक्टोबर २०२३ देखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा ६५ हजार २०८ जना फिलिस्तीनी मारिएका छन् भने १ लाख ६६ हजार २७१ जना घाइते भएका छन्। गत मार्च १८ मा इजरायलले हमाससँग भएको युद्धविराम तोडेपछि मात्रै १२ हजार ६५३ जना मारिएका र ५४ हजार २३० जना घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ।

Next Post

शिवालयको मोर्क बजारमा आफन्तको घरमा लुकेर बसेका फरार कैदी पक्राउ

४ आश्विन २०८२, शनिबार २०:१७
जाजरकोट । कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका फरार कैदी जाजरकोटमा पक्राउ परेका छन्। शनिबार दिउँसो १ बजेतिर शिवालय गाउँपालिका–९ बस्ने २३ वर्षीय ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नौवस्ता कारागार कार्यालय बाँकेबाट भागेर फरार भएका थिए। बादी शिवालय गाउँपालिका–१ मोर्कस्थित आफन्तको घरमा […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031