सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका मटेलास्थित ठाँटी मेलामा सेमिफाइनलका खेलहरु भोलि (आइतवार) हुने भएको छन्। गत कार्तिक १९ गते देखि संचालित मेलामा भलिबल तर्फ समूह चरणका सम्पूर्ण खेलहरु पूरा भएको मेलाका खेल संयोजक खगेन्द्र जिसीले खबरदृष्टिलाई जानकारी दिए।
भोलि (आइतवार) हुने सेमिफाइनल खेलमा पहिलो चरणमा सुर्खेतको लेकवेशी र सल्यानको बनगाड कुपिण्डे दह बीच प्रतिस्पर्धा हुने छ। यो खेलको विजेता टोली फाइनल प्रवेश गर्ने छ। समूह चरणको क्वाटरफाइनलमा लेकवेशीले आयोजक ‘ख’ लाई हराउँदै आफ्नो सेमिफाइनल यात्रा तय गरेको थियो भने बनगाड कुपिण्डे दहले दैलेखको गुराँस गाउँपालिकाको भलिबल टिमलाई हराउँदै आफ्नो सेमिफाइनल यात्रा तय गरेको थियो।
त्यस्तै भोलि नै हुने सेमिफाइनलको दोश्रो खेलमा सुर्खेत चिङ्गाडको भलिबल टिम र रुकुम पश्चिमको आठविसकोटको भलिबल टिम बीच प्रतिस्पर्धा हुने छ। यी दुई बीचको विजेता टोलीले फाइनलमा सेमिफाइनल तर्फ पहिलो खेलको बिजेता सग प्रतिस्पर्धा गर्ने छ। सेमिफाइनलका दुवै चरणका खेलमा पराजित हुने टिम बीच तेश्रो स्थानको लागि प्रतिस्पर्धा हुने छ ।
चिङ्गाडले समूह चरणको क्वाटरफाइनलमा अवलघुवानी भलिबल ग्रुपलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने रुकुम पश्चिमको आठविसकोटले गुर्भाकोट नगरपालिकाको भलिबल टिमलाई हराउँदै आफ्नो सेमिफाइनल यात्रा तय गरेको थियो। ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ठाँटी मेलामा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता – २०८२ मा प्रथम हुनेले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ६५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गर्ने छ।
द्वितीय हुने भलिबल टोलीले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ११ हजार १ सय ११ र तृतीय हुने भलिबल टोलीलेट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्रमाणपत्र र मेडल सहित नगद रु. १० हजार प्राप्त गर्ने छन् भने विभिन्न विद्या तर्फ उत्कृष्ट हुनेले , प्रमाणपत्र र मेडल सहित नगद रु. ३ हजार प्राप्त गर्ने छन् ।
मेलाका खेल संयोजक जिसीका अनुसार सेमिफाइनल खेलहरूलाई हेर्न स्थानीय दर्शकको उत्साह उच्च सगै मेलाको वातावरण झन् रंगिन बन्दै गएको छ।