२०८३ वैशाख २६ , शनिबार

जाजरकोटकी सुमी खड्का ‘द स्पिकिङ टाइटन’को उत्कृष्ट–१० मा



जाजरकोट। जाजरकोटकी सुमी खड्का राष्ट्रिय स्तरको चर्चित भाषणकला सम्बन्धीको रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को उत्कृष्ट–१० मा चयन भएकी छिन् । भेरी नगरपालिका वडा नं ४ की खड्का ३ हजारभन्दा बढी प्रतिस्पर्धीहरुलाई उछिन्दै उत्कृष्ठ १० मा पुग्न सफल भएकी हुन् ।

दामी मिडियाको प्रस्तुती रहेको ‘द स्पिकिङ टाइटन’ रियालिटी शोको प्रशारण ओएसआर रियालिटी युट्युब च्यानल तथा एपी १ एचडी टेलिभिजनमार्फत् हरेक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ । कार्यक्रममा प्रमुख निर्णायक चर्चित सञ्चारकर्मी दिल भुषण पाठक, पूर्व मिस नेपाल माल्भिका सुब्बा, इक्यान (ECAN) का अध्यक्ष शेषराज भट्ट रहेका छन् भने कार्यक्रमको होस्ट सौनक भट्ट रहेका छन्।

सुमी खड्काले प्रतियोगितामा डिजिटल अडिसन, फिजिकल अडिसन, सर्भाइभल स्टेज, कठिन परीक्षा लगायतका विभिन्न चरणहरू सफलतापूर्वक पार गर्दै यहाँसम्मको यात्रा तय गरेकी हुन्। डिजिटल अडिसन चरणमा ३ हजारभन्दा बढी प्रतिस्पर्धीहरू सहभागी थिए। जसबाट छनोट हुँदै उनी फिजिकल अडिसनमा पुगेकी थिइन्।

त्यसपछि क्रमशः टप–५०, टप–३०, टप–२०, टप–१५ हुँदै हाल टप–१० मा स्थान बनाउन सफल भएकी छन् । सुमी खड्का कर्णाली प्रदेशबाट यस रियालिटी शोमा टप–१० सम्म पुग्ने एक्ली प्रतियोगी हुन्। राष्ट्रिय स्तरको प्रतिस्पर्धामा कर्णालीको प्रतिनिधित्व गर्दै अगाडि बढिरहेकी उनको यात्रालाई महत्वका साथ हेरिएको छ ।

‘मलाई उत्कृष्ट ५ मा पुर्याउन सम्पूर्ण कर्णालीबासीमा अनुरोध गर्दछु,’ सुमी खड्काले फोन मार्फत भनिन्। उनलाई उत्कृष्ट ५ सम्म पुर्याउन Aventoz App, esewa, khalti, वा direct QR मार्फत भोट गर्न सकिने छ। भोटिङ् सोमबार बेलुका ९ बजेदेखि बिहीबार दिउँसो २ बजेसम्म गर्न सकिने सुमीले बताइन् ।

प्रकाशित मिति : २०८२ पुस ५ गते शनिबार