काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र समानुपातिक उम्मेदवारको बन्दसूची हेरफेर गरिएको आरोपसँगै तीव्र असन्तुष्टि देखिएको छ। पार्टी नेतृत्वले निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिक सूचीमा आफूनिकटका व्यक्तिहरूलाई अघि सार्दै नाम तलमाथि तथा हटाइएको भन्दै पूर्वमाओवादी पक्ष आक्रोशित बनेको हो। पूर्वमाओवादी नेताहरूका अनुसार आफ्नै टिमबाहिरका नेताहरूलाई योजनाबद्ध रूपमा ‘तह लगाउने’ प्रयासस्वरूप सूचीमा हेरफेर गरिएको हो।
सुरुमा सार्वजनिक सूचीमा पहिलो नम्बरमा रहेका नेताको नाम आठौँ स्थानमा पुर्याइएको, तेस्रो र चौथो नम्बरमा रहेका केही पूर्वमाओवादी नेताहरूको नाम नै हटाइएपछि विवाद थप चर्किएको छ। खस आर्य कोटाको चौथो नम्बरमा रहेकी अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंहको नाम समानुपातिक सूचीबाट हटाइएपछि विवाद उत्कर्षमा पुगेको हो। एक पूर्वमाओवादी नेताका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी नै नदिई सिंहको नाम काटिएको हो।
ती नेताले भने, ‘१८ पुसमा प्रचण्ड संखुवासभा जानुभएको दिन निर्वाचन आयोगमा बुझाइएको सूचीमा पञ्चाको नाम हटाइएको रहेछ। फर्केर सोध्दा जिम्मेवारी पाएका नेताहरूले आफूलाई थाहा नभएको बताए र देव गुरुङलाई थाहा होला भनेर पन्छिए।’ पञ्चा सिंहले सामाजिक सञ्जालमार्फत आफ्नो नाम हटाइएको जानकारी दिँदै पार्टीको सांगठनिक आवश्यकता र निर्णयअनुसार सूची परिमार्जन गरिएको बताएकी छन्। उनले व्यक्तिगत पदभन्दा पार्टीको बृहत्तर हितलाई प्राथमिकता दिने उल्लेख गरे पनि पार्टीभित्र भने उनको नाम हटाइएकामा चर्को असन्तुष्टि छ।
पूर्वमाओवादी नेताहरूका अनुसार पहिलोपटक सार्वजनिक गरिएको समानुपातिक सूची सबैभन्दा सन्तुलित र प्रशंसित थियो। तर, पुराना नेताहरूले नयाँ अनुहारलाई अवसर दिएको नपचाएपछि सूची हेरफेर सुरु भएको आरोप उनीहरूको छ। स्रोतका अनुसार सुरुमा पहिलो नम्बरमा रहेकी करुणा ढुंगेल बस्नेतको नाम आठौँ नम्बरमा पुर्याइएको छ भने देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्मालाई पहिलो नम्बरमा राखिएपछि विवाद झनै बढेको हो।
स्रोतले दाबी गरेअनुसार पौडेल दम्पती प्रचण्डनिवास पुगेर आग्रह गरेपछि सूची परिवर्तन गरिएको हो। पञ्चा सिंहको नाम काटेर बलावती शर्मालाई पहिलो नम्बरमा राखिएको बताइन्छ। बलावती शर्मा क्यान्सरपीडित रहे पनि उनी अन्तरिम विधायक भइसकेकी छन्। तर, अहिलेसम्म कुनै अवसर नपाएकी युवा नेता सिंहको नाम हटाएर पटक–पटक अवसर पाएकाको परिवारलाई अघि सारिएको भन्दै पूर्वमाओवादी पक्ष असन्तुष्ट बनेको छ। नेकपाले सुरुमा अवसर नपाएकालाई प्राथमिकता दिने भन्दै सर्कुलर जारी गरे पनि सर्कुलरको मसी नसुक्दै नेताहरूले आफूनिकटका नाम थप्ने र सूची तलमाथि गर्ने गरेको आरोप लागेको छ।
यसैबीच, दोस्रो नम्बरमा रहेकी उमा अधिकारी पाँचौँ नम्बरमा झरेकी छन् भने तेस्रो नम्बरमा रहेकी सीता दाहालको नाम पनि हटाइएको चर्चा छ। उनका श्रीमान् टेकबहादुर बलम्पाकीले भित्री रूपमा नाम हटाइएको भन्ने सुनेको बताएका छन्। त्यसैगरी, गोरखा जेल ब्रेक घटनाकी कमला नहकर्मी छैटौँबाट तेस्रो नम्बर पुगेकी छन् भने निशा न्यौपाने अधिकारी पाँचौँबाट चौथो नम्बरमा उक्लिएकी छन्। उषाकुमारी पोखरेल र मञ्जु कोइरालाको नाम पनि क्रमशः माथि सारिएको चर्चा नेकपाभित्र चलिरहेको छ। समानुपातिक सूचीमा भएको व्यापक हेरफेरले नेकपाभित्रको आन्तरिक द्वन्द्व थप सतहमा आएको देखिएको छ।