सुर्खेत। निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गएरातिदेखि आचारसंहिता कार्यान्वयनमा ल्याइएको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता स्वीकृत गरी लागू गरिएको आयोगले जनाएको छ ।
आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ भने आयोगबाट अर्को सूचना जारी नभएसम्म लागू रहनेछ । आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय, राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय, सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, विद्यालय–विश्वविद्यालय, निजी क्षेत्र र मतदाता सबैलाई लागू हुने आयोगले स्पष्ट पारेको छ ।
अब के गर्न मिल्छ ?
• नियमित प्रशासनिक तथा अत्यावश्यक सेवा सञ्चालन गर्न
• पहिले नै स्वीकृत योजना तथा कार्यक्रममा निरन्तरता दिन
• निष्पक्ष रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न
• समाचार, सूचना र तथ्यमा आधारित सामग्री प्रकाशन/प्रसारण गर्न
• कानुन बमोजिम चुनावी प्रचार–प्रसार गर्न (तोकेको समय र सीमाभित्र)
के–के गर्न पाइँदैन ?
• सरकारी स्रोत, साधन र सवारी प्रयोग गरी चुनावी प्रचार गर्न
• नयाँ योजना, बजेट, अनुदान वा राहत घोषणा गर्न
• कर्मचारी सरुवा, बढुवा वा नियुक्ति गर्न
• मतदाता प्रभावित हुने गरी उपहार, नगद वा प्रलोभन दिन
• भडकिलो सभा, जुलुस, नाराबाजी र घृणात्मक अभिव्यक्ति दिन
• सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह फैलाउन
• सरकारी तथा सार्वजनिक भवनमा दलको प्रचार सामग्री राख्न
आचारसंहिताको पूर्ण पालना गर्न आयोगले सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लंघन भए कारबाही हुने चेतावनी दिएका छन् ।