
सुर्खेत। रास्वपा सुर्खेतका नेता एवं वीरेन्द्रनगर कमिटीका संस्थापक सभापति हिरालाल बादी र रास्वपा सुर्खेत जिल्ला सह-सचिव भुपेन्द्र थापाले सभापति खड्काले पार्टी हितविपरीत काम गर्दै गईरहेकाेले सभापति पदबाट बर्खास्त गर्न केन्द्रसंग माग गरेका छन्।
गत जेठ ५ गते रास्वपाकाे केन्द्रीय अनुशासन आयाेगलाई पत्र लेख्दै सह-सचिव थापाले आफ्नाे चरित्र हत्या गर्ने उद्देश्यले मानिसहरु परिचालित गरेको, झुटा मुद्दा लगाई राजीनामा दिन दबाब दिएको, आफ्नै घरमा पार्टी कार्यालय राखेर कार्यकर्ताहरुलाई कार्यालय आउन वंचित गराउने काेशिस गरिरहेकाे वताए। प्रदेश सभापतिकाे यस्तै हर्कदका कारण पार्टी कर्णालीमा १ सिट बाहेक अन्यत्र पराजित भएको उनलेे आराेप लगाएका छन्।
यस्तै, रास्वपा सुर्खेत जिल्लाका अगुवा नेता हिरालाल बादीले पनि प्रदेश अध्यक्ष खड्काले जातीय बिभेेद हुनेगरी व्यवहार गरिरहेकाे आराेप लगाए। उनलेे भने, “सभापतिले कार्यकर्ताहरुलाई हेप्ने, चेप्ने र हेलाहाेचाे गर्नेगरी काम गरिरहेका छन। कार्यकर्ताकाे कुनैपनि मुल्यांकन छैन, कसैसंग सल्लाह नगरीकन पकेटवाट मान्छेहरु विभिन्न कमिटीमा नियुक्त भैरहेका छन्।”
कार्यकर्ताहरुलाई हप्काउने र थर्काउने गरिरहेकाे भन्दै त्यस्ताे नगर्न आफुले खड्कालाई धेरैपटक अनुरोध गरिसकेकाे जानकारी दिए। “सीमित मानिसहरुको घेरामा बसेर आम कार्यकर्ताकाे अपमान गरिएकाे छ। र, सिनियरकाे पनि पटक्कै सम्मान छैन,” उनलेे भने।
चाैकुने लगायतका ठाउँमा आफु अनुकुल नेतृत्व नआउने भएपछि खड्काले कर्णाली प्रदेशभर आफ्ना अनुकूल बाहेकका ठाउँमा अधिवेशन राेक्न खाेजेकाे र सुर्खेतकाे पंचपुरीमासमेत अधिवेशन राेकेकाे उनको भनाइ छ।
बादीले खड्का पुन प्रदेश सभापति बन्ने अवस्था आए आफु लगायतका ईमानदार कार्यकर्ताहरुले अर्को प्रदेश अधिवेशन गर्ने र त्यसको नेतृत्व आफुले गर्नेसमेत उनलेे चेतावनी दिए।
अनुशासन आयाेगमा परेको उजुरीवारे बुझ्न खाेज्दा सभापति खड्काले आफुले कुनै प्रकारकाे जातिय विभेद नगरेको र कार्यकर्ताहरुलाई कुनैपनि प्रकारकाे विभेद पनि नगरेको वताए। यस्ताखाले प्रतिकृया जाेकाेही पार्टी सदस्यले मिडियामा दिए कार्वाहीकाे विषय बन्ने उनलेे चेतावनी दिए।
रास्वपामा किन चुलिदै छ गुटबन्दी ?
रास्वपा कर्णाली भित्रकाे गुटबन्दी चुलिदै गएको छ। दुई बामपंथी पृष्ठभूमिका प्रदेश सभापति मदनबहादुर खड्का र निवर्तमान सह-महामन्त्री हरिप्रसाद अधिकारी वीचकाे शक्तिसंघर्ष प्रदेश र जिल्ला नेतृत्व कसले हत्याउने भन्नेमा केन्द्रीत रहेको छ।
रास्वपामा खारिएका नेतृत्वकाे अभाव छ। विगतमा पार्टीमा भनेजस्तो स्थान नपाएको र नेतृत्वसंग “टसल” भएका व्यक्तिहरु अहिले रास्वपाकाे नेतृत्वमा छन। गुटबन्दीकाे परिक्षामा हरेकपल्ट जाँच दिदै आएका पुराना दल कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले भरिभराउ भएको रास्वपामा गुटबन्दी झांगिदै गएको छ।
विगतमा एमाले पार्टीवाट टिकट पाएर स्थानीय तहको निर्वाचन लडेका हरिप्रसाद अधिकारी र एमालेवाट माओवादी र वीचमा स्वतन्त्र मुभमेन्टसमेत चलाएका सुर्खेत उद्योग वाणिज्य संघकाे राजनीति गर्दा केही समय कांग्रेस निकट भएको पनि हल्ला चलेका मदन खड्का वीच चर्काे प्रतिस्पर्धा चलिरहेको छ।
पुराना पार्टी छाड्दा अवसरै अवसर
छाेटै समयमा रास्वपा प्रवेश गरेर संघीय सांसद पड्काएका रमेशकुमार सापकोटाकाे विगत कांग्रेस पृष्ठभूमिकाे थियोे। मध्यपश्चिम वस समितिसंगकाे लफडाका कारण कांग्रेसको वीरेन्द्रनगर कमिटी सचिव हुँदाहुँदै रास्वपा प्रवेश गरेका सापकोटालाई सांसद पद र रास्पपाकाे जिल्ला सभापतिकाे पद लगभग “मुफ्त” मै मिलेको छ। सापकोटाले प्रतिनिधी सभाकाे सांसद बनिएला भन्ने साेचेका पनि थिएनन्। विष्णुबहादुर खड्कासंगकाे टकरावले उनलाई सांसद बनाईदियाे।
एमाले निकट खम्बप्रसाद थानी रास्वपासंग अलि पहिल्यैदेखि जाेडिएका थिए। गत निर्वाचनकाे समयमा एमालेवाट ताेरण विक, जागुराम थारु लगायतका कार्यकर्ता रास्वपा प्रवेश गरे। निर्वाचन पछि धुर्व थापा लगायतका कार्यकर्ताकाे राेजाई रास्वपा बन्याे। उनीहरूलाई रास्वपा भित्र्याउने काम रास्वपा नेता हरिप्रसाद अधिकारीले गरे।
रास्वपामा जान पार्टी परिवर्तन गर्ने लहर अझै थामिएकाे छैन। नेपाली कांग्रेसवाट सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मण कँडेलले चुनाव अघि नै रास्वपाकाे टिकट लिएको गाईगुई चलेपनि उनी स्वयंले रास्वपाकाे टिकट नलिएकाे प्रतिकृया दिदै आएका थिए। कांग्रेसले पछि उनलाई पार्टीकाे जिल्ला सदस्यसमेत बनायो। कांग्रेसले उनलाई राेक्न पार्टीको जिल्ला समिति सदस्य बनाएको काम लागेन।
विशेषत: कांग्रेस नेता पूर्णबहादुर खड्काकाे मुख्य प्रचारक जस्तै देखिने उनले कांग्रेस भित्रकाे किचलाे र केही नेताले हेलाहाेचाे गरेको कारण पार्टी छाड्न वाध्य भएको बताउँदै हिड्न थालेका छन। उनलेे कांग्रेस निकट वीरेन्द्रनगरका केही व्यवसायीहरुसमेत लिएर रास्वपा छिरेका छन।
यसैगरी, नेपाली कांग्रेस वीरेन्द्रनगर वडा नं ४ का वडा अध्यक्ष गाेविन्द शर्माले पनि रास्वपा प्रवेश गरेकाे भनेर सार्वजनिक भएपनि सांसदकाे टिकट रमेशकुमार सापकोटाले पाएपछि उनी रास्वपा प्रवेश गरिसकेकाे ठानिएको थियो।
तरपनि केही कांग्रेसीहरु शर्माकाे मन रास्वपा र तन मात्रै कांग्रेसतिर भएको चर्चा गर्ने गर्थे। अहिले उनै सापकोटाकाे सहयोगमा शर्माले फास्ट ट्रयाकवाट जिल्लाकाे कार्यवाहक सभापति हात पारेका छन।
कांग्रेस पृष्ठभूमि र पत्रकारिता क्षेत्रमा राम्रै नाम कमाएका सुदिप पुरी रास्वपा भित्र रवि टिमका खास मान्छे भनेर चिनिन्छन्। ग्यालेक्सी फाेरके टेलिभिजनमा कर्णाली व्यूराे प्रमुख बनेदेखि नै उनकाे रविसंग निकटता थियाे। धेरै कांग्रेसहरुले आधिकारिकरुपमा पार्टी प्रवेश नगरेपनि उनलाई रास्वपाकै कार्यकर्ता मान्दथे। पुराना शिक्षक नेताहरु तिर्थ उपाध्याय, डिल्ली शर्मा, रेडक्रस सुर्खेतका पुराना कर्मचारी गाेविन्द आचार्य, व्यवसायी शिव रेग्मी लगायतका व्यक्तिहरु अहिले रास्वपामा सकृय छन्।
नेपाली कांग्रेस छाडेर चुपचाप घण्टी चुनाव चिन्ह राेजेका वीरेन्द्रनगर ८ का बासिन्दा सिए छविलाल आचार्य, अर्का युवा प्रकाश लामिछाने, पूर्व बैकर गणेश वहादुर विसीले आगामी स्थानीय तहकाे निर्वाचनमा उम्मेदवार बन्नेगरी गाेप्य तयारी गरिरहेका छन्।
सुर्खेत पूर्वबाट नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका टेकबहादुर शिंहले सांसद पदकाे उम्मेदवार बन्ने अबसरसमेत पाए। अर्का नेता अनन्त पाैडेल पार्टी प्रवेश गरेर अष्ट्रेलिया हानिएका छन्। वराहताल गाउँ पालिका कमिटी उप-सभापति डिल्ली पाैडेलले पनि कांग्रेस छाडेका छन्। गुर्वाकाेट कांग्रेसका नेता चित्र रेग्मी, भेरीगंगा नगरपालिकाका वलबहादुर ओलिले पनि कांग्रेसभित्रकाे चरम गुटबन्दीकाे कारण पार्टी छाडेका छन।
एमालेलाई सबैभन्दा धेरै धक्का सिम्तामा लागेको छ। सिम्तावाट नेत्रलाल महतारा, सहिद ऋषि शर्माका भाइ बालाराम शर्मा, भिमबहादुर मल्ल, रेशम महतरा, बिरेन्द्र सिँह रास्वपा प्रवेश गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीवाट बराहताल गाउँपालिकाका वलबहादुर कठायत, चिंगाडवाट महेश जिसी लगायतका चर्चित युवाहरुले पालिका अध्यक्षकाे आकांक्षा राख्दै रास्वपा प्रवेश गरेका छन्। नेकपा माओवादीकाे आधार ईलाका भनिने चिंगाड, बराह र चाैकुनेमा उक्त पार्टी निक्कै कमजोर बनेको छ।