काठमाडौँ — दार्चुलाको लिपुलेक भएर भारत र चीनले व्यापारिक नाका खोलेर व्यापार गरिरहेको विषयमा सरकार बोल्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद राईले नेपाली भूमि भएर भारत र चीनले व्यापार गरिरहेको विषयमा सरकार अहिलेसम्म नबोलेको भन्दै असन्तुष्टि जनाए । सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको माग थियो । लिपुलेकमा नाका खोलियो, नाकाबाट भारत र चीनबीच व्यापार भइरहेको छ भन्ने कुराहरू जानकारीमा आएको छ तर सरकारले यो विषयमा बोलेको छैन, राईले भने, सरकारले बोल्नुपर्छ । हामी चाहन्छौं सरकारले बोलोस् र के हो आधारिक धारणा नेपालको त्यसबारेमा भन्ने कुरा हामी सबैलाई जानकारी होस् ।
अध्यक्ष राईले संसद्मा उठेका कुरा सरकारले गम्भीर भएर सुन्नुपर्ने बताए । संसद्मा उठेका विषय सुनेर सरकारले कार्यान्वयनमा लैजानुपर्ने पनि उनको धारणा थियो । हामीले भनेका कुराहरूलाई कार्यान्वयन पनि गर्नुपर्छ । सरकार सफल हुने, असफल हुने भन्ने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्छ, उनले भने, विगतका अभ्यासहरूले, परम्पराले पनि त्यही देखाएको छ ।
सरकारले प्रतिपक्षको आवाज नसुन्दाखेरि ठीक तरिकाले समस्या समाधान नभएको कारणले त्यस्तो भएको इतिहास छ । त्यस्तो इतिहास नदोहरियोस् भन्ने अनुरोध गर्न चाहन्छु ।राईले सहकारीका समस्या समाधान गर्नुपर्ने पनि बताए । जसले सहकारी ठगेको हो उनीहरूको जायजेथा बेचेर भए पनि पीडितलाई रकम दिनुपर्ने धारणा उनले राखे ।