काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा ग्यास अभावलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारमा रहेकाहरूले व्यवहारबाट नयाँ भएको अनुभूति जनतालाई दिलाउनुपर्ने पनि उनको भनाइ थियो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद प्रसाईंले सरकारका गतिविधिले के बोल्ने के नबोल्ने भन्ने अन्योलमा पर्ने गरेको बताए । म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनूँ १ मेरै गाला, मेरै चड्कन,ु प्रसाईंले भने, मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा, जहाँ हामी सरकारी कार्यालयमा नो लाइनु रास्वपाको पालामा ुवन्ली अनलाइनु भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ ।
सरकारलाई प्रसाईंले प्रश्न गरेका छन् । उनले सोधेको पहिलो प्रश्न हो, यो ग्यासको अभाव देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्रीको क्वाटरमा ग्यासको अभाव छ कि छैन ?
सरकारले ग्यास पर्याप्त भएको भनिरहेको बेला सांसद प्रसाईंले सरकारलाई जनताकहाँ किन ग्यास पुगेन भनेर प्रश्न गरेका छन् । यदि कृत्रिम अभाव सिर्जना भएको हो भने सरकारले भनेजस्तै ग्यास ह्वारह्वार्ती आएर कालोबजारी भएको हो भने, ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन के ले रोकेको छ दुई तिहाइको सरकारलाई उनले सोधे ।
जनतालाई व्यवहारमा नयाँ भएको अनुभव दिन सांसद प्रसाईंले सरकारसँग आग्रह गरेका छन् । उनले भने, जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला, हेन्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो, जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ ।