काठमाडौं । शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भएको छ ।
राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन् । बमले यसै अस्पतालका कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका हुन् ।
बमले अस्पतालमा तोडफोड गरेका छन् । पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पलाँता अस्पतालमा मेडिकल अफिसर डा।अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो ।
यसै विषयमा छलफल गर्न साँझ डा।अली अस्पतालका अन्य कर्मचारी प्रहरी चौकी पुगेका थिए । छलफलमा आक्रमण गर्ने व्यक्ति, स्थानीय र जनप्रतिनिधि समेतको सहभागिता थियो ।
अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको भन्दै डाक्टर, नर्समाथि आक्रमणस्थानीय, जनप्रतिनिधि र प्रहरी समेतले अब यस्ता घटना नहुने भन्दै मिल्न दबाब दिएको डा।अलीले बताए ।
नमिल्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरेको उनले जानकारी दिए । ‘उहाँहरुले मिल्न भनिरहनुभएको थियो’ डा।अलीले भने, ‘कुटपिट भएको छ, एक हप्तादेखि गाली, दुर्व्यवहार पनि भइरहेको छ हामी मिल्दैनौँ भनेर मानेनौँ ।’
नमिल्ने भनेर राति पौने ९ बजेतिर आफूहरू अस्पताल फर्किएको र त्यसलगतै अस्पताल प्रवेश गरी आक्रमण भएको डा।अलीले बताए ।
‘ओइ मधेसी बाहिर निस्की’ भन्दै भित्र प्रवेश गरेका बमले बाहिरको ढोका तोडफोड गर्दै छिरेका थिए । रोक्न खोज्दा उनले सुरक्षा गार्डलाई समेत आक्रमण गरे ।
आफू अस्पतालको धेरैभित्र बस्ने आक्रमण गर्न नसकेको डा।अलीले बताए । त्यसपछि उनले अस्पतालका तोडफोड गरे ।
ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल लगायतमा तोफफोड गरेको डा।अलीले जानकारी दिए ।
उनले फार्मेसी पूरै तोडफोड गरेका छन् । ढोका फोरेर फार्मेसीभित्र छिरी औषधि राखिएका दराज, र्याक पूरै लडाइदिएको सीसीटीभी भिडियोमा देखिन्छ ।
त्यसको केही समयपछि प्रहरी आएर उनलाई नियन्त्रणमा दिएर गएको डा। अलीले बताए । यस्तो अवस्थामा रहेर आफू अस्पतालका काम गर्न नसक्ने डा।अलीको गुनासो छ ।
डा।अली प्रहरीको सहयोगमा अस्पतालबाट फर्किने व्यवस्था मिलाइएको पताँला गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानले जानकारी दिए । ‘उहाँ बिहानै निस्कन खोज्नुभएको थियो’ न्यौपानले भने, ‘अहिले प्रहरीको सहयोगमा सबै तयारी गरेर फर्कने व्यवस्था हुँदैछ ।’