२०८३ असोज ६ , मंगलबार

संविधान सप्ताहमा कर्णालीभर हजार बढी बिरुवा रोपिए



 

जगदिश शाही
सुर्खेत । संविधान दिवस सप्ताहको अवसर पारेर कर्णाली प्रदेशमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत प्रदेशका १० जिल्लामा एक हजारभन्दा बढी बिरुवा रोपिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा प्रदेशका ११ वटा डिभिजन वन कार्यालयमार्फत विभिन्न स्थानमा वृक्षारोपण गरिएको हो । बाँझो तथा उपयोगविहीन जमिनमा बहुमूल्य वनस्पति लगाउँदै हरियाली विस्तार गर्ने उद्देश्यले अभियान अघि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

वीरेन्द्रनगरमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्री तथा पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का, ऊर्जामन्त्री कलबहादुर हमाल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा लगायत सहभागी थिए ।

डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा विभिन्न प्रजातिका ८० वटा बिरुवा रोपेको जनाएको छ । कार्यालयका प्रमुख राधाकृष्ण दासका अनुसार कपुर, गुलमोहर, कल्की र वीरेन्द्र फूलका बिरुवा रोपिएका छन् । प्रत्येक प्रजातिका २०,२० वटा बिरुवा रोपिएको उनले जानकारी दिए ।

प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कर्णालीका बाँझो जमिनलाई हराभरा बनाउने योजनाअनुसार वृक्षारोपण अभियान सञ्चालन गरिएको बताइन् ।

उनका अनुसार प्रदेशका विभिन्न स्थानमा बहुमूल्य तथा उपयोगी वनस्पति विस्तार गर्ने योजनालाई अभियानसँग जोडिएको छ । संविधान दिवस सप्ताहका अवसरमा ११ वटा डिभिजन वन कार्यालयमार्फत एकैपटक वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रदेश सरकारले वृक्षारोपणलाई वातावरण संरक्षणसँगै बाँझो जमिनको सदुपयोग र दीर्घकालीन हरियाली प्रवर्द्धनसँग जोडेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार