जगदिश शाही
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले पार्टी सदस्यता नवीकरणसँगै संगठनको वास्तविक अवस्था पहिचान गर्ने गरी विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रदेश समितिले असोज महिनाभर सञ्चालन गर्ने अभियानमार्फत स्थानीय तहसम्म पुगेर सदस्यहरूको अवस्था, संगठनको सक्रियता र पार्टीप्रतिको सम्बन्धबारे जानकारी संकलन गर्ने तयारी गरेको हो।
सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक विमला केसीले सदस्यता नवीकरणलाई संगठन सुदृढीकरणसँग जोडेर अघि बढाइने बताउनुभयो। उहाँका अनुसार अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्तालाई परिचालन गरिनेछ।
अभियानका लागि केन्द्रीय सदस्यको नेतृत्वमा प्रदेश समिति सदस्य, स्थानीय तहका पदाधिकारी तथा सम्बन्धित क्षेत्रका पार्टी प्रतिनिधि सम्मिलित टोली बनाइनेछ। उक्त टोली सम्बन्धित क्षेत्रमा पुगेर सदस्यता नवीकरण गराउनुका साथै संगठनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनेछ।
टोलीका सदस्यलाई कम्तीमा २५ दिन पार्टीको काममा खटाउने निर्णय गरिएको छ। सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको सक्रियता, संगठनसँगको सम्बन्ध तथा स्थानीय तहमा पार्टीका गतिविधिबारे जानकारी संकलन गरिने प्रदेश समितिले जनाएको छ।
यसक्रममा टोल तथा बस्तीस्तरमा भेला, प्रशिक्षण र छलफलसमेत सञ्चालन गरिनेछ। पार्टीको राजनीतिक तथा वैचारिक कार्यदिशा, समसामयिक राजनीतिक विषय र पार्टी सदस्यको भूमिकाबारे स्थानीयस्तरमै छलफल गर्ने योजना रहेको छ।
युवालाई पार्टीमा जोड्ने विषयलाई पनि अभियानको प्राथमिकतामा राखिएको छ। आगामी दिनमा युवाको सहभागिता र आकर्षण बढाउन आवश्यक योजना तथा कार्यक्रमबारे स्थानीय तहबाट सुझाव लिइने बताइएको छ।
त्यस्तै, नेता तथा कार्यकर्ताको मूल्यांकन गर्ने प्रभावकारी पद्धति विकास गर्ने र पार्टीमा आबद्ध सदस्यले आफू सुरक्षित तथा सम्मानित भएको अनुभूति गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा समेत सुझाव संकलन गरिनेछ।
प्रदेश समितिका अनुसार अभियानबाट कर्णालीका विभिन्न क्षेत्रमा संगठनको अवस्था, सक्रियता र सदस्यहरूको भूमिकाबारे प्रत्यक्ष जानकारी प्राप्त हुनेछ। सदस्यता नवीकरणसँगै संगठन कहाँ बलियो छ, कहाँ थप सक्रियता आवश्यक छ र सदस्यहरूको अवस्था कस्तो छ भन्ने विषयमा समेत विवरण तयार गरिनेछ।
प्रदेश संयोजक केसीले देशभर सदस्यता नवीकरणको प्रक्रिया चलिरहेका बेला कर्णालीमा त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो।
प्रदेश समितिले अभियानबाट प्राप्त सुझाव र स्थानीय तहको अवस्थालाई आगामी संगठनात्मक योजना तथा महाधिवेशनसम्बन्धी तयारीमा समेत उपयोग गर्ने जनाएको छ।