जगदिश शाही
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार मन्त्री तथा सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्दै विकास बजेट निर्धारित समयसीमाभित्रै कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री तथा सचिवहरूलाई आग्रह गरेका हुन्।
मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कीत लामा कार्की र जलस्रोत तथा ऊर्जा विकास मन्त्री कलबहादुर हमाललगायतसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
त्यस्तै, मुख्यमन्त्री शाहीले प्रमुख सचिव राधिका अर्यालसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन्। प्रमुख सचिव अर्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू रमेशकुमार केसी, लक्ष्मीकुमार विक र कानुन सचिव निधिराज न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेकी छन्।
कार्यक्रममा मुख्यमन्त्री शाहीले कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित हुन नहुने बताए। यसको प्रभाव नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी सरकारको सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
‘कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित रहनुहुँदैन। यसले सरकारको सेवा प्रवाह ९सर्भिस डेलिभरी० साँच्चै नागरिकले अनुभूत गर्ने खालको हुनुपर्छ,’ उनले भने।
प्रत्येक मन्त्रीले सम्बन्धित सचिवसँग समेत कार्यसम्पादन सम्झौता गरेर काम अघि बढाउनुपर्ने मुख्यमन्त्री शाहीले बताए। मातहतका कार्यालयसँग समन्वय गरी काम प्रभावकारी रूपमा भए–नभएको र निर्धारित समयभित्र बजेट खर्च भए–नभएको विषयमा गम्भीरतापूर्वक अनुगमन गर्न उनले जोड दिए।
योजना अनुगमन प्रणालीलाई प्रविधिसँग जोडेर लैजाने तयारी रहेको पनि मुख्यमन्त्री शाहीले बताए। अनुगमनलाई सहज, छिटो, नियमित र प्रभावकारी बनाउन छुट्टै प्रणाली विकास गरेर प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ।
प्रदेश सरकारका योजना तथा कार्यक्रम समयमै कार्यान्वयन गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले कार्यसम्पादन सम्झौतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिएका छन्।