काठमाडौं । ठूला चाड ९दसैं, तिहार र छठ० को मुखमा उपभोक्तालाई राहत दिने भन्दै चामलको मूल्य घटाउने घोषणा गरेका उद्योगी तथा व्यापारीले सरकार र उपभोक्ता दुवैलाई नराम्ररी झुक्याएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विभागीय मन्त्री दीपककुमार साहको उपस्थितिमा भएको सघन छलफलमा चामलमा प्रतिबोरा २ सय रुपैयाँसम्म मूल्य घटाउने प्रतिबद्धता जनाएका उद्योगीले दुई साता बितिसक्दा पनि मूल्य नघटाएर मन्त्रीलाई नै ढाँटेका हुन् ।
मन्त्री साहका अगाडि ‘सस्तोमा चामल खुवाउँछौं’ भन्दै प्रतिबद्धता जनाउने र अर्कातिर बजारमा पुरानै महँगो मूल्यको बिल काटेर चामल पठाउने उद्योगीको दोहोरो चरित्रका कारण यतिबेला उपभोक्ता र खुद्रा व्यापारी मारमा परेका छन् ।
नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग स्वयंले उद्योगीले वाचा अनुसार मूल्य नघटाएको पुष्टि गरेको छ । खुद्रा व्यापारीले उद्योगबाटै चामलको भाउ घटेर नआएको गुनासो गरेका छन् ।
मन्त्रालयमा मूल्य घटाउने प्रतिबद्धता जनाएको नेपाल चामल, तेल, दाल उद्योग संघकै सदस्यहरू अहिले तर्कहीन जवाफ दिएर पन्छिन थालेका छन् ।
बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि गराएर सञ्चारमाध्यममा भने चामलको मूल्य घटिसकेको दाबी गर्ने तिनै उद्योगीले खुद्रा व्यापारीलाई भने ‘मंसिरमा नयाँ धान नभित्रिएसम्म भाउ नघट्ने’ ठाडो जवाफ दिइरहेका छन् ।
यसले राज्य संयन्त्रमाथि बिचौलिया र उद्योगीको सिन्डिकेट कतिसम्म हावी छ भन्ने प्रस्टै देखिएको उपभोक्ताहरूको आरोप छ ।
असारदेखि नै नेपाली बजारमा चामलको मूल्य बिस्तारै महँगिन सुरु गरेको थियो । सुरुवातमा उद्योगीले भारतमै धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सयदेखि ३ हजार ५ सय भारु पुगेको र भारत सरकारले निर्यातमा नीतिगत कडाइ गरेको बहाना बनाएर मूल्य बढाए ।
त्यसपछि १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी र १४ भदौमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएर राजधानी भित्रिने मुख्य ढुवानीमार्ग अवरुद्ध भएको मौका छोपेर उद्योगीले चामलको मूल्यमा अचाक्ली वृद्धि गरे ।
असारदेखि भदौ अन्तिमसम्म ३ महिनाको छोटो अवधिमा मात्रै उद्योगदेखि खुद्रा बजारसम्म आइपुग्दा २५ किलो बोराको चामलमा ४ सयदेखि ५ सय रुपैयाँसम्मको अस्वाभाविक मूल्यवृद्धि भयो ।
बजारमा २ हजारदेखि २ हजार ३ सय रुपैयाँसम्म पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य बढेर करिब २ हजार ५ सयदेखि २ हाजर ७ सय रुपैयाँसम्म पुग्यो । १ हजार ३ सय ५० पर्ने सोना मन्सुली ९मोटा० चामल बढेर १ हजार ७ सय ५० रुपैयाँसम्म पुग्यो ।
तर, १८ दिन अवरुद्ध कृष्णभिरको बाटो मर्मत र वैकल्पिक मार्ग सञ्चालनमा आएसँगै ढुवानीमा लाग्ने खर्चमा कटौती भयो । ढुवानी भाडा प्रतिकिलो साढे ७ रुपैयाँबाट घटेर ४ रुपैयाँमा झर्यो ।
चौतर्फी विरोध भएपछि भदौ अन्तिम साता उद्योगमन्त्री साहले उद्योगीहरूलाई मन्त्रालयमा बोलाए । उक्त छलफलमा नेपाल चामल, तेल, दाल उद्योग संघका पदाधिकारीहरूले ढुवानी भाडा घटेको भन्दै प्रतिबोरा ७५ देखि १ सय २५ रुपैयाँ ९कुनैमा २ सयसम्म० मूल्य घटाउने प्रतिबद्धता जनाए ।
संघका कार्यालय सचिव अजय पराजुलीले त्यतिबेला अनलाइनखबरसँग भनेका थिए, ‘अहिले बाटो खुलेपछि ढुवानी भाडा घटेको छ, यसको अर्थ २५ किलोको बोरामा ढुवानी भाडा मात्रै करिब ७५ रुपैयाँले घटेको छ, हामीले सोही अनुपातमा चामलको मूल्य घटाउने निर्णय गरेका छौं ।’
उनले नयाँ समायोजित मूल्यसूची भन्दै २ हजार ५ सय ७५ पर्ने जिरा मसिनो अब २ हजार ४ सय ७५ र १ हजार ७ सय २५ पर्ने सोना मन्सुली १ हजार ६ सय २५ मा उपभोक्ताले पाउने दाबी गरेका थिए ।
तर, यो प्रतिबद्धता मात्रै मिडियाबाट मूल्य घटाएको समाचार प्रकाशित गराएर मन्त्री र उपभोक्तालाई भ्रममा पार्ने ‘स्टन्ट’ साबित भयो ।
मिडियामा चामलको मूल्य घटेको समाचार पढेर बजार पुग्ने उपभोक्ताले पसलमा आएर महँगोमा बेचेको भन्दै व्यापारीसँग विवाद गर्न थालेपछि खुद्रा व्यापारीहरू उद्योगीसँग रुष्ट बनेका छन् ।
नेपाल खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्य उद्योगीहरूले मन्त्रीसामु मूल्य घटाउने ‘फुर्ती’ लगाए पनि बजारमा सस्तो चामल नपठाएको बताउँछन् ।
‘मेरो पनि यसमा ठूलो गुनासो छ,’ अध्यक्ष बज्राचार्यले भने, ‘उत्पादकहरू मन्त्रीको अगाडि चामलको मूल्य घटाउँछौं भनेर फुर्ती लगाएर गए, तर उनीहरूले अहिलेसम्म घटाएर बजारमा सामान पठाएकै छैनन्, हामीलाई पुरानै रेटमा दिइराखेका छन् ।’
बजारमा मूल्य नघटेपछि स्वयं मन्त्री साहले समेत चासो व्यक्त गरेको उनले सुनाए । बज्राचार्यका अनुसार उद्योगीहरूले ‘एमआरपी’ ९अधिकतम खुद्रा मूल्य० मै ठूलो खेलबाड गरिरहेका छन् ।
‘उनीहरू एमआरपी नै बढाएर राख्छन्, २६ सय ५० रुपैयाँ एमआरपी राखेर सामान दिन्छन् र त्यसमा हामीलाई ५ प्रतिशत मार्जिन दिएका हुन्छन्,’ बज्राचार्यले भने, ‘हाम्रो खरिद लागत नै २५ सय पर्छ भने हामीले कसरी २४ सयमा बेच्न सक्छौं रु’
चिनीमा पनि ठूला डिलरहरूको बदमासी उस्तै रहेको बज्राचार्यको भनाइ छ । खुद्रा व्यापार संघले चाडपर्वमा उपभोक्तालाई राहत दिन नाफा नराखी प्रतिकिलो १ सय १० रुपैयाँमै चिनी बेच्ने घोषणा गरे पनि डिलरहरूले बिल १ सय १० को दिने तर पैसा १ सय ३० रुपैयाँसम्म लिने गरेको उनको भनाइ छ ।
संघका सदस्य एवं चामल उद्योगी विभोर अग्रवालले आफूहरूले मूल्य नबढाएको दाबी गर्दै केही उद्योगीबाट एमआरपीमा बदमासी भएको हुन सक्ने आरोप लगाए ।
‘हामीले त्यतिबेला बाटो बन्द हुँदा २५ सय ७५ मा बेच्दै थियौं, अहिले २४ सय ५० भन्दा माथि बेचेकै छैनौं, कहाँबाट मूल्य बढ्यो रु,’ अग्रवालले उल्टै प्रतिप्रश्न गरे, ‘नेपालमा एमआरपीको कुनै मापदण्ड नै छैन, पहिला एमआरपीको २० प्रतिशत नियम थियो ९खरिद मूल्यमा अधिकतम २० प्रतिशत मात्र एमआरपी राख्न पाइने०, अहिले सरकारले त्यो नियम हटाइसक्यो ।’
उनले आफ्नो कम्पनीले २४ सय ५० भन्दा माथि नबेचेको दाबी गरे । ‘अरूले कसरी बेचिरहेका छन्, त्यो त सरकारको अनुगमनको विषय हो,’ उनले भने ।
अग्रवालको यो भनाइले उद्योगीहरूबीच नै कुनै समन्वय नभएको र सरकारले खारेज गरेको पुरानो नीतिको फाइदा उठाउँदै उपभोक्तालाई खुलेआम लुटिरहेको पुष्टि हुन्छ ।
मन्त्रालयको बन्द कोठाभित्र जे सहमति भए पनि उपभोक्तासँग प्रत्यक्ष जोडिने खुद्रा व्यापरीहरूले भने उद्योगीले मंसिरअघि चामलको मूल्य घट्दैन भनेको बताएका छन् ।
‘हामीले आफैं चामल उत्पादन गर्ने होइन, उद्योग र होलसेलबाट जति मूल्यको बिल आउँछ, त्यसमा सामान्य नाफा राखेर बेच्ने हो,’ नयाँ बानेश्वरका एक किराना व्यापारी भन्छन्, ‘मिडियामा चामलको मूल्य घट्यो भनेर आउँछ, तर हामीलाई फ्याक्ट्रीबाट एक रुपैयाँ पनि घटेर आएको छैन, बोरामा जुन एमआरपी प्रिन्ट भएर आएको छ, हामीले त्यसैमा बेचेका छौं ।’
ती व्यापारीका अनुसार चामलको भाउ कहिले घट्छ भनेर डिलर र उद्योगीलाई सोध्दा उनीहरूले ठाडो जवाफ दिने गरेका छन् ।
‘हामीले समाचारमा त घटेको कुरा छ, हाम्रो बिलमा कहिले घटेर आउँछ भनेर बुझ्दा उद्योगीले सिधै अब मंसिरसम्म चामलको भाउ घट्दैन भनेका छन्,’ ती व्यापारीले भने, ‘उनीहरूको भनाइ अनुसार मंसिरमा नयाँ धान भित्रिएपछि मात्रै मूल्य घट्छ, अहिले पुरानै धान महँगोमा किनेकाले घटाउन नसकिने जवाफ हामीले पाएका छौं ।’
सरकारी नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने यस विषयमा निरीह देखिएको छ । विभागले चामलको मूल्य नघटेको गुनासो आएपछि उद्योगीहरूसँग दुई पटक छलफल गरे पनि परिणाम शून्य छ ।
उद्योगीहरूले पुरानो स्टकको सजिलो बहाना बनाएर विभागलाई फर्काउने गरेका छन् । वाणिज्य विभागका सूचना अधिकारी अनिल किराँती अनुगमन क्रममा बजारमा चामलको मूल्य नघटेको पाइएको बताउँछन् ।
‘हामीले उहाँहरू ९उद्योगी० सँग बीचमा दुई पटक जति कुरा पनि गर्यौं, पुरानो स्टक पहिला नै मार्केटमा गइसकेको छ, त्यसलाई अब मार्केटमा गएर प्रत्येक पसल–पसलमा घटाउन सकिँदैन, अब नयाँ आउनेमा चाहिँ हामी एमआरपी घटाउँछौं, त्यसका लागि केही समय लाग्छ भन्ने उहाँहरूको जवाफ छ,’ उनले भने ।
विभागले पुरानो स्टक भए पनि तत्काल एमआरपी घटाएर बेच्न आग्रह गरेको किराँतीले बताए ।