२०८३ असोज १५ , बिहीबार

सम्झौता अवधिभन्दा १० महिना अगावै तिल्चा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न



जगदिश शाही
रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ स्थित तिल्चा खोलामा सम्झौता अवधिभन्दा करिब १० महिना अगावै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

कर्णाली प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, चौरजहारीमार्फत ठेक्का आह्वान गरिएको उक्त पुल निर्माणका लागि २०८२ असार २० गते निर्माण व्यवसायी ज्वालामुखी हिमशिखर हिरा जेभीसँग सम्झौता भएको थियो। २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण व्यवसायीले निर्धारित समयभन्दा करिब १० महिना अगावै पुल निर्माण सम्पन्न गरेको हो।

दुई स्पान र प्रिस्टे«स्ड प्रविधिमा निर्माण गरिएको पुल ६३ मिटर लामो रहेको छ। पुल निर्माणका लागि भ्याटसहित ८ करोड २२ लाख ११ हजार ३४८ रुपैयाँ २१ पैसामा सम्झौता भएको थियो।

बाँफिकोट गाउँपालिकाको छिनखेत–पिपल–पोखरा हुँदै रुकुमपूर्व जाने सडकखण्डअन्तर्गत बालुवाचौरमा निर्माण गरिएको उक्त पुलको बुधबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्काले उद्घाटन गर्नुभयो।

पुल उद्घाटन गर्दै मन्त्री खड्काले निर्माण व्यवसायी असल र विकासमैत्री भए समयमै विकास निर्माणका काम सम्पन्न गर्न सकिने उदाहरणका रूपमा तिल्चा खोलाको पुललाई लिन सकिने बताउनुभयो। उहाँले समयमै काम नगर्ने, विभिन्न बहानामा विकास निर्माणका काममा ढिलाइ गर्ने तथा आयोजना रुग्ण बनाउने प्रवृत्तिविरुद्ध मन्त्रालयले काम गरिरहेको बताउनुभयो।

‘काम नगर्ने प्रवृत्ति बढेकाले त्यस्ता ठेकेदारको जमानत जफत गर्नेदेखि ठेक्का रद्द गर्नेसम्मका काममा मन्त्रालय लागेको छ,’ उहाँले भन्नुभयो।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले स्रोतसाधन हुँदाहुँदै पनि लापरबाहीका कारण विकास आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीले तिल्चा खोलाको पुल निर्माणबाट पाठ सिक्नुपर्ने बताउनुभयो। विकास निर्माणका काममा ढिलासुस्ती हुँदा सर्वसाधारणले थप दुःख पाउने भएकाले समयमै निर्माण सम्पन्न गर्न सबै पक्ष इमानदार हुनुपर्ने उहाँको भनाइ थियो।

कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले वर्षौंदेखि स्थानीयवासीले माग गर्दै आएको तिल्चा खोलामा पुल निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। जनताको माग सम्बोधन गर्न जनप्रतिनिधि लागिपरेको उल्लेख गर्दै उहाँले निर्माण व्यवसायीलाई आफ्नो जिम्मेवारीप्रति इमानदार र विकास निर्माणप्रति प्रतिबद्ध हुन आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार