२०८३ वैशाख २६ , शनिबार

स्ववियुको चुनाव नजिकिएसँगै क्याम्पसमा चहलपहल बढ्दो



सुर्खेत । आसन्न चैत ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउन अब केही दिन मात्रै बाँकी रहेका छ । चुनाव नजिकिएसँगै मध्यपश्चिम विश्वविद्यालयमा पनि चहलपहल तिव्र गतिमा बढेको छ । संगठनहरुले निर्वाचनमा आफ्नो पक्षमा पार्नको लागि क्याम्पसमा विभिन्न चुनाव केन्द्रित कार्यक्रमहरु गरीरहेका छन् । आइतबार नौ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । फागुन २१ गते मतदाता सूची प्रकाशन गरे लगत्तै आगामी चैत ३ गने हुने निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी नेताहरुले आ–आफ्नो संगठनबाट उम्मेदवारी दर्ता गराएका हुन् । अहिले राष्ट्रिय राजनीतिमा गठबन्धन भए पनि विद्यार्थी संगठनहरु भने एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । विश्वविद्यालयका निर्वाचन अधिकृत वेदप्रकाश ढकालका अनुसार स्ववियुको अध्यक्ष र सचिवमा ९÷९ जनाको उम्मेदवारी परेको छ, भने कोषाध्यक्षमा ६ र सदस्यमा ३० जनाको उम्मेदवारी परेको छ । जसमा ३ जना पदाधिकारी र सात जना सदस्य मात्रै रहने व्यवस्था छ ।

अध्यक्षमा अनेरास्ववियुका प्रकाश रिजाल, एकीकृत समाजवादी निकट अनेरास्ववियूका मिलन विसी, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट ममता अधिकारी, नेविसंघबाट रोशन बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनबाट योगेश कुमार शाहीले उम्मेदवारी दिएका छन भने चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पारस सिंह, भूपेन्द्र बम, महेन्द्रकुमार थापा र महेश धिताल छन् । अखिल क्रान्तिकारीकी अधिकारी अध्यक्ष पदका ९ उम्मेदवारमध्ये एकमात्र महिला उम्मेदवार हुन् । उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् । अहिलेसम्म मध्यपश्चिम विश्वविद्यालयमा संगठनहरुबीच गठबन्धन गरेर जाने विषयमा छलफल नभएको गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले बताएका छन् । अध्यक्षका अन्य उम्मेदवारले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । नेविसंघबाट अध्यक्षका उम्मेदवार रोशन बस्नेतले अर्कातर्फ गठबन्धन बने पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनी कांग्रेसभित्र संस्थापन पक्षधर मानिन्छन । यद्यपि उम्मेदवारले नाम फिर्ता लिने दिन (फागुन) २५ गते सम्म सहमति भएमा गठबन्धन गरेर जान सक्ने सम्भावना रहेको पनि कतिपय औंल्याउँछन् । तर अहिलेसम्म विद्यार्थी संगठनहरुले यो विषयमा छलफल गरेका छैनन् ।

४ हजार २९ जना मतदाता रहेको विश्वविद्यालयमा ६ वटा संघ संगठनले समानुपातिक सूची समेत पेस गरेको निर्वाचन अधिकृत ढकालले जानकारी दिए । मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो पटक स्ववियु निर्वाचन हुन लागेको हो । यस्तै यता, सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठकले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थीहरुलाई सहकार्य गर्न निर्देशन दिएको छ । आइतबार वीरेन्द्रनगरमा बसेको बैठकले स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थीहरुलाई सहकार्य गर्न निर्देशन दिएको हो । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृ संगठनबीच सहकार्य गरेर जान निर्देशन दिइएको निर्देशन दिएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । अध्यक्ष केसीका अनुसार आआफना संगठनका तर्फबाट उम्मेदवार घोषणा गरिररहेका बेला कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी दिन विद्यार्थीलाइ निर्देशन दिईएको हो ।

यस्तो छ स्ववियुको कार्यतालिका
स्ववियुको कार्यतालिका अनुसार फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ । निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ ।

त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् । निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

 

प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार