सुर्खेत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले नेपाली कांग्रेस माओवादीको बैशाखीबिना उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको तिला गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘कुनै बेला कम्युनिष्टमाथि झुटा आरोप लगाउने कांग्रेस आज माओवादीको बैशाखीबिना उभिन नसक्ने अवस्थामा पुगेको छ’, उनले भने, इन्चार्ज कँडेलले माओवादी वामपन्थी एजेन्डा र सहयात्री छाडेर दक्षिणपन्थमा हिँडिरहेको आरोप समेत लगाएका छन् । आगामी निर्वाचनमा जतिसुकै दल मिले पनि एमालेले बहुमत ल्याउने दाबी गर्दै कँडेलले त्यसका लागि अहिलेदेखि नै अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा (एमाले) का लागि सरकारमा जानु वा नजानु प्रधान विषय नभएको बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य कृष्णकान्त चौलागाईंलगायत एमाले प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि कँडेलले स्वागत गरेका थिए ।