सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने बताएका छन् । शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी सत्ता पक्षकै सिटमा बसेका छौँ। हामी बसेको अगाडि सत्ता पक्ष लेखेको छ। सत्ता पक्षमा बसेर विपक्षमा मत दिँदैनन्। यदी विपक्षमा मातदान गर्ने भए हामीले त्यही अनुसारको तयारी थाल्ने थियौँ। हामी र हाम्रो दल आज जो अवस्थामा छ। त्यही अवस्थामा रहनेछ । यसमा कुनै दुविधा छैन ।’
यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने संकेत गरेका छन् । २७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिएन ।