सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । यसअघि प्रदेश सरकारमा सामेल राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः शुक्रवारकाे प्रदेशसभामा विश्वासको मत पाएका हुन । मुख्यमन्त्री शर्माले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको गरी ३८ मत प्राप्त गरेका हुन् ।
उनको विपक्षमा भने एक मत परेको छ । राप्रपाले शर्मालाई विश्वासको मत दिएन । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा गत पुष २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि माघ ६ गते पहिलो पटकको विश्वासको मत लिएका थिए ।
माओवादी, नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादी १÷१ सांसदले समर्थन गरेका थिए । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।
कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३ र एमालेका सभामुखसहित १० सांसद छन् । त्यस्तै राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १÷१ सदस्य गरी ४० सदस्य छन् । मुख्यमन्त्री शर्मालाई यसअघि नेपाली कांग्रेसले विश्वासको मत दिएको थिएन । तर यस पटक भने कांग्रेसले पनि विश्वासको मत दिएको छ ।