
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्वका लागि एमालेलाई पहिलो पार्टी बनाउन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताएका छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमाले संगठन सुदृढीकरण तथा विस्तार मिसन ग्रासरुट अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यस पटकको निर्वाचनमा एमालेले सोचेजस्तो परिमाण प्राप्त गर्न नसकेको बताए । ‘यस पटकको निर्वाचनमा एक्ला एक्लै चुनाव लडेको भए एमालेले अहिलेको भन्दा दोब्बर मत प्राप्त गर्ने थियो,’ उनले भने, ‘तर कुनै पनि पार्टी एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा थिएन ।’
अबको पाँच वर्षपछि एमालेले कार्यकर्ताको मन जितेर बलियो पार्टी बन्ने बताए । साथै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भविष्यसमेत नभएको दाबी गरे ।
‘एमाले सरकारमा गएको बेला आर्थिक संकट सुध्रिएको थियो, अहिले आर्थिक संकटको अवस्था सबैलाई थाहा नै छ,’ उनले भने, ‘त्यसैले अहिलेको सरकार भनेको मन्त्री, मुख्यमन्त्री मात्रै जन्माउने हो ।’ उनले कर्णाली राजमार्ग, कर्णाली करिडोरलगायतका निर्माण कार्य एमालेले गरेको समेत दाबी गरे ।