डोल्पा । हिमाली जिल्ला डोल्पामा अवैधरूपमा यार्सागुम्बा संकलन गर्न जानेहरु दिन प्रतिदिन पक्राउ परिरहेका छन् । यार्सा सिजन खुल्नु अगाडि नै पाटन छिर्न खोज्ने १९ जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, रामवाण गुल्म र सुरक्षा पोस्ट तोइजुमको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ ।
उनीहरुलाई पक्राउ गरी शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगाडमा बुझाइएको छ । उनीहरूलाई अवैधरुपमा यार्सा पाटन छिर्न खोज्दै गर्दा गत वैशाख १३ गते राति १ बजे पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा डोल्पा जिल्ला जगादुल्ला गाउँपालिकाका ६ की १८ वर्षीया बिर्सना रोकाय, १७ वर्षीया तिला रोकाय, ३१ वर्षीय राजु रोकाय, ३३ वर्षीय शिवलाल रोकाय, १३ वर्षीय सुवास रोकाय, १२ वर्षीया पूजा रोकाय, १६ वर्षीय राज रोकाय, १५ वर्षीय सन्दीप रोकाय, १७ वर्षीय नरेश रोकाय, १५ वर्षीय लक्ष्मन रोकाय, १३ वर्षीय विरेश रोकाय, २७ वर्षीया लालकुमारी एडी, १९ वर्षीया कर्णसरा रोकाय, सोही गाउँपालिका ४ चौरीकोट बस्ने २० वर्षीया माया बोहोरा र ११ वर्षीया सासना बोहोरा रहेका छन् ।
त्यस्तै जुम्ला जिल्ला गुठीचौर गाउँपालिका २ गडि गाउँका १६ वर्षीय बम बोहोरा, १४ वर्षीय विजय बस्नेत, १७ वर्षीय प्रेम बस्नेत र १० वर्षीय प्रविन बस्नेत पनि पक्राउ परेका छन् । उनीहरू सबै निकुञ्जको तोइजुम पोस्टबाट पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउ गरेलगत्तै आवश्यक कारबाहीका लागि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यलयका रेन्जर अनिल रसाइलीलाई बुझाइएको छ ।
केही दिनअघि पनि निकुञ्जबाट खटिएको संयुक्त टोलीले सोही ठाउँबाट १३ जना लाई पक्राउ गरेको थियो । प्रत्येक वर्ष डोल्पामा सर्वदलीय बैठक बसेर निर्णय गरेसँगै यार्सा संकलन खुलाउने गरिन्छ । यार्सागुम्बा डोल्पावासीको प्रमुख आयश्रोत मानिन्छ ।
यार्सा संकलन गर्ने समय भन्दा अगाडि नै लुकीछिपी यार्सा पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नियमित गस्तीका क्रममा यदि कोही कसै भेटिएमा पक्राउ गरी नियमानुसार कारबाही गरिने समेत निकुञ्जले जनाएको छ ।