
सुर्खेत । विद्युत् प्राधिकरण सुर्खेतको अटेरीले विकास निर्माणका काममा समस्या देखिएको छ । कार्यालयले वीरेन्द्रनगरमा निर्माण भइरहेको नालामा परेका पोल समयमै नसारिदिँदा काम गर्न समस्या भएको निर्माण व्यवसायीहरूले गुनासो गरेका छन् ।
नाला निर्माणका लागि पूर्वाधार विकास निर्देशनालयले १३ करोड ६८ लाख बजेटमा खड्का निर्माण सेवा बाँकेसँग २८ भदौ २०७८ मा सम्झौता गरेको थियो । १ हजार ८ सय मिटर नाला निर्माण गर्नुपर्नेमा अहिलेसम्म १ हजार ७ सय मिटर भन्दा बढी नाला बनिसकेको छ भने विद्युत् प्राधिकरणले अटेरी गरी करिब ७ वटा बिजुलीका पोल नसार्दा बाँकी काम समयमै सम्पन्न गर्न समस्या भएको हो ।
वीरेन्द्रनगरको मुख्य बजार वीरेन्द्र चोक देखि खोर्के खोला पुलसम्ममा मात्रै करिब ७ वटा पोल प्राधिकरणले नसारिदिँदा निर्माण व्यवसायीले नालामै पर्ने गरी निर्माण गरिरहेका छन् । पोल नसारीकनै नाला निर्माण गरेपछि सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिले तस्बिरसहित विरोध जनाएका छन् ।
उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यालय, ठेकेदारलगायतको आलोचना भइरहेको छ। विकास निर्माणका काममा एक–आपसमा समन्वय हुँदैन भन्ने गतिलो उदाहरणका रूपमा यसलाई लिन सकिने स्थानीयहरू बताउँछन् । विकास निर्माणका काममा कति सम्म लापरबाही हुन्छ भन्ने उदाहरण यो कामले प्रस्ट पारेको छ।
सडक विस्तार र निर्माणका क्रममा धेरैजसो सडकमा विद्युत् कार्यालय बाधक बनिरहेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्राविधिक भुपेन्द्र जैसीले विद्युत् प्राधिकरणलाई बारम्बार खबर गरे पनि उसले पोल नसार्दा नालाको बिचमा पोल राखिएर नाला निर्माण गर्न बाध्य भएको जानकारी दिए ।
‘हामीले धेरै पटक पत्राचार गर्याै, तर प्राधिकरणले अटेर गर्याे,’ उनले भने ‘ प्राधिकरणले पोल नसार्दा हामीलाई धेरै समस्या भएको छ । पहिले नै सकिने काम अहिलेसम्म पनि सकिएको छैन ।’यता, विद्युत् प्राधिकरण सुर्खेतका प्रमुख युवराज रावतले पोल सार्ने ठाउँ नहुँदा पोल सार्न नसकिएको बाध्यता सुनाए ।
उनले आफूहरूले विद्युत् पोल हटाउने पहल गरिरहेको जानकारी दिए । ‘हामीले सम्बन्धित वडा र निर्देशनालयमा पत्राचार गरेका छौ,’ उनले भने, ‘उहाँहरूले हटाउन हामीलाई अनुरोध गरे हटाउँछौँ । तत्कालै सम्झौता गरेर तत्कालै हटाउने भन्ने कुरा हुँदैन, समय लाग्छ ।’ यो त एउटा उदाहरण मात्रै हो ।
वीरेन्द्रनगरमा निर्माण भई रहेका अधिकांश सडकदेखि अन्य निर्माणमा विद्युत् प्राधिकरण नै वाधक बन्ने गरेको छ । वीरेन्द्रनगरका मुख्य चोक र भित्री सडकमा समेत पोल सारिएको छैन । नाला निर्माण भएपछि मात्रै पोल सार्ने गरिएको छ ।
पोल भएको ठाउँमा पुनः निर्माण गर्नुपर्ने हुन्छ । यसले लागत र समय खेर गइरहेको प्राविधिक जैसी बताउँछन् । “एकै पटक हुने कामलाई पटक–पटक गर्दा स्वाभाविक रूपमा बजेट र समय बढी लाग्छ,” प्राविधिक जैसीले भने ।
मंगलगढी–काँक्रेविहार जोड्ने सडक अन्तर्गत ४८ वटा विद्युतका पोल सार्नुपर्ने भए पनि अहिलेसम्म हटाइएको छैन । पोल सार्न निर्देशनालयले प्राधिकरणलाई ५० लाख भुक्तानी दिइसकेको छ । यस सडक अन्तर्गतका ३४ वटा घर हटाइसकिएको छ भने केही घर हटाउने क्रम जारी नै रहेको निर्देशनालयले जनाएको छ ।
वीरेन्द्रनगर–तेल पानी सडकमा पनि प्राधिकरणको अटेरी देखिन्छ । यो प्रदेश वीरेन्द्रनगर–बर्दिया जोड्ने छोटो मार्ग हो । जसको दूरी ५१ किलोमिटर छ । प्रदेश सरकारले यो वर्ष ७ सय मिटर कालोपत्रे गर्ने तयारी गरे पनि सडकको बिच भागमा रहेका विद्युत् पोल नहटाउँदा कालोपत्रेको काम अघि बढ्न सकेको छैन ।
१४ वटा पोल हटाउन २७ लाख रकम प्राधिकरणलाई बुझाइएको र विद्युत् प्राधिकरणले दुई हप्ता अघि पोल हटाउने भनेर १५ लाख लिइसकेको निर्देशनालयले जनाएको छ। पोलकै कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकिने पूर्वाधार विकास निर्देशनालयका प्रमुख श्यामशरण आचार्यले बताए ।