रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष शशिराम बिकले जनचेतना आधारभुत विद्यालय अंगेरीलाई नियमितरुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
वडाअध्यक्ष बिकले विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको अभिभावक भेलालाई सम्बोधन गर्दै सोतीखोला, वसिगाउँ र टाकुरा टोलको पायक पर्ने स्थानमा रहेको आधारभुत विद्यालयलाई नियमितरुपमा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
बाल शिक्षा सञ्चालन भइरहेको विद्यालयमा त्यस क्षेत्रका अभिभावकहरुले कक्षा ३ सम्म सञ्चालन गर्नका लागि विद्यार्थीहरु भर्ना गरेको तर नगरपालिकाले विद्यार्थीहरुका लागि आवाश्यक पर्ने पाठयक्रम, शिक्षक तथा विद्यालय पोषाक उपल्बध नगराएको अवस्थामा बिकले त्यसको जिम्मेवारी आफूले लिने बताए ।
वडाअध्यक्ष बिकले आधाभुत विद्यालयमा ६५ जना विद्यार्थी भर्ना भएको अवस्था रहेको र यसका लागि विद्यालयमा आवाश्यक पर्ने शिक्षक दरबन्दी, पाठयक्रम र विद्यालय पोषाक दिने दायित्व नगरपालिकाको भएपनि पटक-पटक आग्रह गर्दा समेत नगरपालिकाले माग सुनुवाइ नगरेकाले अब त्यसको जिम्मेवारी आफूले लिने कुरामा विश्वस्त हुन अभिभावकलाई आग्रह गरे ।
भेलामा सहभागी अभिभावकहरुले नगरपालिकाभित्रका कतिपय आधारभुत तहका विद्यालयमा ४० देखि ५० जना विद्यार्थी रहँदा पनि शिक्षक दरबन्दीसहित नगरपालिकाबाट पाउने सेवासुविधा दिने तर ६५ जना विद्यार्थी भर्ना भएको ८ नं वडाको विद्यालयमा आवाश्यक जनशक्ति र पूर्वाधार नदिएको भन्दै आन्दोलन गर्ने चेतावानी दिएका छन् ।